रामेछाप–दोलखा हुँदै काठमाण्डौंसम्म गाडी चल्ने

रामेछाप । बर्षा सँगै नदीमा आएको बाढीले मोटरेवल पुल र सडक बगाएसँगै एकहप्ता देखी अवरुद्ध बनेको रामेछाप काठमाण्डौंसम्मको सडक भोलीबाट नियमित रुपमा यातायातका साधन संचालन हुने भएका छन् ।

अत्याधिक वर्षाका कारण रोशीखोला, सुनकोशी र तामाकोशी नदीमा आएको पानीको उच्च बहावले रामेछाप र सिन्धुली जोड्ने सुनकोशी नदीमा रहेको पुष्पलाल राजमार्गको मोटरेवल पुल बगाएसँगै विपी राजमार्गका विभिन्न स्थानमा सडक तहसनहस बनाएको थियो । त्यस्तै दोलखाको शहरे गाउँपालिकाको किर्नेटार स्थित हाइड्रोपार नजिकैको सडक समेत कटान गरी सडक अवरुद्ध भएको हुँदा रामेछापवाट काठमाण्डौंसम्मको यात्रा अवरोध हुन पुगेको थियो ।

सडक अवरुद्ध भएपछि स्थानिय राजनितिक दलका प्रतिनिधिहरु, समन्वय प्रमुख, स्थानिय तहका जनप्रतिनिधिहरु, स्थानिय प्रशासन, सेना प्रहरी, शसस्त्र प्रहरी र नागरिकहरुको पहलमा अवरुद्ध रहेको सडकहरु मध्ये दोलखाको किर्ने स्थित विद्युत गृह नजिकैबाट वैकल्पीक रुपमा सडक संचालन गरी मन्थली–दोलखा हुँदै काठमाण्डौंसम्म सडक खुलाउन सफल भएका हुन् । रामेछापका जनप्रतिनिधीहरुले सडक खुलाउन रामेछापका प्रनितिधिसभा सदस्य एव‌ ऊर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ र नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङसँग समेत गुहार मागेका थिए ।

क्षतीको अवस्था हेर्न हेलिकोप्टर मार्पmत मगंलवार किर्ने आएका जलश्रोत राज्य मन्त्री र विद्युत प्राधिकरणका निर्देशकसँग रामेछापका राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरुको अनुरोध स्विकार्दै हाइड्रोपावर भित्रवाट तत्कालका लागि अस्थायी सडक खुलाउने सहमती भएसँगै वुधवार दिउँसो उक्त बाटो खुलेको जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का (कार्की)ले जानकारी दिइन ।

अस्थायी रुपमा सडक खुलेसँगै भोली (विहिवार) बाट रामेछापबाट दोलखा हुँदै काठमाण्डौंसम्म नियमित यातायातका साधनहरु संञ्चालन गरिने अरनिको यातायात सेवा समितिका रामेछाप काउन्टर प्रमुख शुवास फुयालले जानकारी दिए । उनले भने– वर्षाले ग्रामिण सडक क्षत विक्षत पारेका कारण अहिले तत्काल गाउँगाउँसम्म यातायातका साधनहरु संञ्चालन गर्न कठिनाई भएको छ । जती सडक सुरक्षित छन् ती सवै रुटमा निर्विवाद रुपले यातायात सेवा सञ्चालन गरिने बताए ।

रामेछापबाट राजधानी काठमाण्डौंसम्म अरनीको यातायात, वेणी त्रिवेणी यातायात, सिटी भिलेज यातायात, हिमगंगा यातायात, हिमाल तराई यातयात र खाँडादेवी यातायात लगाएतका समितिहरुले रामेछापका नागरिकहरुलाई नियमित सेवा प्रदान गर्दै आएका छन् ।

Scroll to Top