रामेछाप । देशका पश्चिीमी भू-भागमा पानी कै कारण बाढी पहिरोबाट धेरै जनधनको क्षती भइरहेको समाचार दिनहुँ आइरहदा रामेछापमा भने पानी कै अभावमा ७८ प्रतिशत खेत बाँझै रहेका छन् ।


मध्य असारको दोश्रो साता वित्नै लाग्दा रामेछापमा हालसम्म जम्माजम्मी २२ प्रतिशत मात्रै किसानले धान रोपाई गरेका छन् । वाँकी ७८ प्रतिशत किसानहरुको खेतमा अझै बाँझो नै रहेको छ । कतिपय किसानहरुले पानी पर्ला र खेत रोपौला भनेर खेत जोतेर ठिक्क पारेर राखेका छन् भने केही किसानहरु पानी परेपछि एकै पटक खेत जोत्ने र रोपाई सकि हाल्ने भन्दै पानीको प्रतिक्षामा बस्दै आएका छन् ।
यता रोपाई सकेका किसानहरुको अनुहारमा पनि त्यति खुशीयाली भने छैन् । रोपेको धान पानी नहुँदा सुक्न थाल्दा किसानहरु दिनहुँ बादलले ढाकेको आकाश तर्फ फर्केर हेरेर दिन कटाउन थालेका छन् । हाल रोपाई भएको ठाउँमा पनि कतिपय किसानहरुले जेनेरेटर र विद्युतीय माध्यमवाट पानी तानेर रोपाई गरेका हुन् । किसानहरुले धानको ब्याड राख्ने समयमा पनि खोला तथा नदीको पानी महङ्गो मूल्य तिरेर जेनेरेटेर बाट तानेर राखेका थिए ।



असार महिना किसानहरुको लागि “मानो रोपेर मुरी फलाउने” बेला हो यो । तर पानी नपर्दा किसानहरुले आफ्नो खेत बाँझै हेरेर वस्न विवश छन् । धान रोपाईको राखेको ब्याड पनि पानी नहुँदा त्यती मौलाएको छैन् । भएको ब्याड पनि हौसिएर ठूलो भइसक्यो । त्यही ब्याड पनि पानी पर्नासाथ धान रोपाई गरी हालौला भनेर बसेको खै पानी नै पर्दैन् मन्थली नगरपालिका–१ का किसान हरिराम भुजेलले जानकारी दिए ।
उनले भने– दिनहुँ जसो समाचार माध्ययममा धेरै ठाउँमा पानीले गर्दा वाढी पहिरो आयो सवै बगायो मात्रै सुनिन्छ । तर यहाँ खै पानी पर्न सक्दैन । दिनहुँ जसो आकाश धुम्मिछ मात्रै । पानी झर्छ की जस्तो हुन्छ, पानी पर्न सक्दैन । पानी पर्ला भनेर खेत जोतेर ठिक्क पारेर राखेको छु । खेतमा अन्तवाट पानी ल्याएर लगाउने ठाउँ नै छैन् । पानी पर्ला, रणजोर खोलामा पानी बग्ला र त्यही पानी माझ कुलो हुँदै ल्याएर खेत रोपौला भनेर बसेको छु । म जस्तै अरु धेरै किसानहरु पानीको प्रतिक्षामा बसेको भुजेलले बताए ।

हाल सिंचाईको लागि सहज भएका रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालि–३ टोकरपुरको रजमनटानर फाँट, रामेछाप नगरपालिका–२ साँघुटार फाँट, लिखु तामाकोशी गाउँपालिका–२ सैपुको शिरिषे फाँट, खाँडादेवी गाउँपालिका–४ पकरवासको माडीफाँट, मन्थली नगरपालिका–१ को माडिफाँट, सानिमदौ फाँट र तामाकोशी नदी किनारका फाँटरहरु र वडा नं ६ को कुनौरी लगाएतका फाँटहरुमा भने रोपाई गर्ने काम भइरहेको छ ।
यस वाहेक पानीको अभाव भएका र आकाशे पानीको भरमा धान रोपाई गर्नुपर्ने अधिकासं किसानहरु आकाशवाट पानी झर्नासाथ “मौकामा चौका हान्ने” दाउँमा बसेका छन् । पानी नपर्दा ग्रामिण भेगका अधिकासं पाखे खेतहरु बाँझै रहेका छन् । प्रयाप्त वर्षा नहुँदा रामेछापमा हालसम्म २२ प्रतिशत मात्रै धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका सूचना अधिकारी उपेन्द्र चौधरी (कुर्मी) ले जानकारी दिए ।
रामेछापमा कुल ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । खेती गर्ने किसानहरुलाई कहिले पानी त कहिले खेतवारीमा राख्ने रासायनिक मलले सधै पिरोल्ने गरेको छ । किसानलाई सरकारले वर्षेनी खेती लगाउने समयमा मल सँगै बीउँ समेत उपलव्ध गराउन नसक्दा किसानहरु अन्न बाली लगाउने बेलामा चिन्तित हुने गरेका छन् ।