निर्वाचनको मिति नजिकिएसँगै रामेछापका उम्मेदवारको दौडधुप बढ्यो

रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै रामेछापका विभिन्न पार्टीका उम्मेदवारहरुको दौडधुप बढेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु जनताको घरदैलोमा पुग्न थालेका छन् । अहिले नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राप्रपा र केही स्वतन्त्र उम्मेदवारहरु दैनिक जसो जनताको घरदैलोमा आफ्नो पक्षमा मत माग्न पुगेका छन् । यी दल वाहेक नेपाली काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीका उम्मेदवारहरु भने राजधानी केन्द्रित कार्यकर्ताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । काँग्रेस माघ १९ गतेदेखी गाउँ केन्द्रित कार्यक्रम लिएर जनताको घरदैलोमा पस्ने कार्यक्रम तय गरेको छ ।

फागुन २१ मा हुने प्रतिनिधिसमा निर्वाचनमा रामेछापवाट नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, राष्टिय प्रजातन्त्र पार्टी लगाएत चौध राजनितिक दलका उम्मेदवार र अन्य तीन स्वतन्त्र उम्मेदवार गरी १७ उम्मेदवारहरु चुनावी मैदानमा उभिएका छन् ।

जिल्लाका ठूला राजनितिक दलहरु मध्ये नेपाली काँग्रेसले पूर्व पार्टी सभापति रामचन्द्र खड्कालाई उम्मेदवारी बनाएको छ । खड्का १७ वर्षसम्म पार्टी सभापतिको भूमिका निभाई सकेका पार्टी भित्र कुनै दाग नलागेका निश्कलंक नेता हुन् । अहिले उम्मेदवार बनेका खड्का २०७० सालमा सांसद पदमा उम्मेदवार बनेका थिए । खड्का नेकपा माओवादीका उम्मेदवार श्यामकुमार श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए ।

त्यस्तै नेकपा एमालेले अनेरास्वीयुका पूर्व केन्द्रिय अध्यक्ष माधव ढुंगेललाई पहिलो पटक रामेछापमा टिकट दिएर पार्टीले उम्मेदवारी बनाएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीवाट २०७० र २०७४ सालको निर्वाचनमा नेकपा माओवादी पार्टीबाट निर्वाचित बनेर पूर्व गृहराज्य मन्त्री समेत बनेका श्यामकुमार श्रेष्ठलाई उम्मेदवारी बनाएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले डा. कृष्णहरी बुढाथोकीलाई उम्मेदवारी बनाएको छ । बुढाथोकीको यो पहिलो अनुभव हो । उनी यसअघि राजधानीका विभिन्न बैंकिङ्ग र सहकारी क्षेत्रमा काम गर्दै आएका थिए । स्वतन्त्र पार्टीले उनलाई अघि सारेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । ७४ सालको निर्वाचन जितेर गाउँ नफर्किएका नेताहरु अहिले चुनावी अभियान लिएर गाउँ पसेका छन् । जनताले मत दिएर पठाएका नेता गाउँ फर्किएसँगै अहिले गाउँका चिया पसल देखी गाउँटोलमा भेला भएका नागरिकहरु यसपटकको निर्वाचनमा कुन दललाई मतदान भन्ने बहस चलाउन थालेका छन् ।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल एक लाख ८७ हजार ९५२ जना मतदाताले मतदान गर्ने छन् । जसको लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सकिन्छ भन्दै मुख्य निर्वाचन कार्यालयले सम्वन्धित पक्षसँग छलफलमा जुटेसँगै रामेछाप निर्वाचन मय भएको छ ।

Scroll to Top