रामेछाप । उमाकुण्ड गाउँपालिका–१ गुम्देलकाे लिखु नदीमा एमबी दुगड समुहको लगानीमा निमार्ण सम्पन्न भई परिक्षणको क्रममा रहेको ५५ मेघावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाको सुरुङको पानी बस्तीमा चुहिदा ४२ घर प्रभावित भएका छन् ।
पानी चुहिएको तीनहप्ता बितिसक्दा पनि जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न कुनै पहल नगरेको भन्दै स्थानियहरुले आयोजनाका सञ्चालकलाई कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा उजुरी दर्ता गराएका छन् ।
रामेछापको उमाकुण्ड १ गुम्देलको पेकरनासमा हुँदै निर्माण भएको सुरुङमा आयोजनाले पानी परीक्षण गर्दा सुरुङको पानी जताततैबाट चुहिदा उक्त क्षेत्रमा बसोबास गर्ने ४२ घर परिवार बसोवास रहेको उक्त स्थान अहिले जलमग्न रहेको छ । पानी चुहिदा उक्त गाउँमा अहिले केही स्थानमा पहिरो चलेको र केही घर डुबानमा परेको स्थानीय राजेन्द्र घिमिरेले जानकारी दिए ।
उनले भने–आयोजनाको कारण ४२ घर विस्थापित हुने अवस्थामा छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि र जिल्लाको नेतृत्व लाग्दा पनि आयोजनाका सञ्चालकले जोखिमका बासिन्दाको विषयमा चासो नदिएपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छौं । प्रशासनले आयोजनाका जिम्मेवार व्यक्तिलाई तत्काल झिकाएर छलफल गराउने आशामा आफुहरु बसेको घिमिरेले बताए ।
आयोजनाले निमार्ण गरेको सुरुङको पानी चुहिएर बस्ती जोखिममा पर्दा पनि आयोजनाले प्रभावित क्षेत्रबाट स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कार्यमा कुनै चासो देखाएको छैन । आयोजनाका कर्मचारीहरुले भने उक्त पानी सुरुङबाट चुहिएको नभइ पानीको मूल फुटेको भन्दै पन्छिदै आएका छन् । अहिलेसम्म आयोजनाका कुनै पनि जिम्मेवार व्यक्ति उक्त प्रभावित क्षेत्रमा गएका छैनन् ।
आयोजना प्रभावित जोखिम क्षेत्रमा पुगेर फर्केका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) ले तत्काल उक्त क्षेत्रमा बसोबास गर्नेलाई आयोजनाले सुरक्षित स्थानमा तत्काल सार्नु पर्ने अवस्था रहेको बताए । उनले भने– आयोजनाले स्थानिय माथी अत्याचार गरेको रहेछ । पानी वस्तीमा जताततै निस्कीरहेको छ, सवै बस्ती पहिरिने अवस्था छ । गाउँभरी रुवाबासी चलेको छ, गाउँका नागरिक रातीको समयमा निदाउन समेत सकेका छैनन् । आयोजनाले अतिसंवेदनशील विषयमा ध्यान नदिएको र उत्तरदायित्व बहन नगरेकोमा तामाङले रोष प्रकट गरे ।
आयोजना प्रभावित क्षेत्रमा केही दिन अघि रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोली समेत पुगेर स्थलगत अनुगमन गरी फर्केको थियो । अनुुगमन टोलीले उक्त वस्ती जहिल्यै पनि बग्न सक्ने अवस्था देखेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गृह सचिवलाई पत्राचार गरी सुरुङमा पानी पठाउने कार्य तत्कालका लागि बन्द गर्ने व्यवस्थाका लागि आग्रह गरेको थियो । उक्त आग्रह अनुसार विद्युत् विकास विभागले मंगलबार बिहान सुरुङ परीक्षणका लागि पठाउँदै आएको पानी लिखु नदीतर्फ फर्काएको छ । तर सुरुङबाट चुहिने पानीको मात्रा घट्नुको साटो झन् बढ्दै गएको स्थानियहरुले बताएका छन् ।
उक्त क्षेत्रको समस्या समाधानको लागि बिहीबार जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले आयोजना सञ्चालकलाई र प्रभावित क्षेत्रका नागरिकलाई बोलाएको छलफल कार्यक्रममा लिखु–२ आयोजनाबाट कोही पनि सहभागी भएनन् । प्रतिनिधिसभा सदस्य तामाङ पूर्वगृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ र वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल समेतको सहभागिता रहेको उक्त छलफलमा आयोजनाका सञ्चालक नआएपछि उक्त कार्यक्रममा सहभागी भएकाहरु रुष्ट भएका थिए ।
आयोजना सञ्चालकहरु जिल्ला तहमा भएका कुनै पनि छलफल तथा निर्णय मान्न तयार छैनन् पूर्वमन्त्री पौडेलले भने– आयोजनाले उर्जा मन्त्रालय र विद्युत् विकास विभागलाई प्रभावमा राखेका कारण यो समस्या भएको बताए । पूर्व गृहराज्यमन्त्री श्रेष्ठले विपद्को अवस्थादेखि आयोजनाबाट भएको बलमिच्याइँ र हेलचेक्र्याइँ सह्य नहुने खालको रहेकाले नेपाल सरकारले तत्काल उच्चस्तरीय अनुगमन गराइ आवश्यक निर्णय लिनुपर्ने बताए ।
तत्काल जोखिममा परेका ४२ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने माग स्थानीयको रहेको छ । जिल्ला प्रशासन कार्यालय रामेछापमा वसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त क्षेत्रमा जुनसुकै बेला पहिरो जाने उच्च जोखिम बढेकोले आयोजनाले तत्काल सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाउनुुपर्ने र सुरुङको पानी सबै खाली गराई जोखिमलाई तत्काल न्यूनीकरण गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यस्थापन समितिका अध्यक्ष अनिता निरौलाले बताइन ।
उनले भनिन्– मैले यो विषयमा माथिल्लो निकायमा बारम्बार कुरा राखेकी छु, लिखित र मौखिक अनुरोध गरिरहेको भएता पनि आयोजनाका पदाधिकारीले हालसम्म कुनै चासो नदिँदा ठूलो दुर्घटना हुन सक्ने सम्भावना रहेको बताइन ।