डुुङ्गा चलाउने खेललाई राष्ट्रिय खेलमा सहभागी गराउँछु– घिसिङ

रामेछाप । राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव टंकलाल घिसिङले माझी समुदायको डुङ्गा चलाउने खेललाई पनि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको खेलकुद प्रतियोगीतामा सहभागीता गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सो कुरा उनले शुक्रबार रामेछापको सेलेघाट स्थित सुनकोशी नदीमा दोस्रो राष्ट्रिय लाउ (डुङ्गा) दौड प्रतियोगिताको उद्घाटन गर्ने क्रममा बताएका हुन् । उनले नेपालका जाति विशेषका परम्परागत साहसिक खेललाई विकास गरिदै लैजाने बताएका छन् । हाल भइरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरू पनि कुनै न कुनै मानव सभ्यतासँगै विकास भएर आएकाले माझी समुदायको डुङ्गा चलाउने यो खेललाई पनि राष्ट्रिय र अन्तराष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागीता गराउन सकिने बताए ।

उक्त प्रतियोगीता राष्ट्रिय खेलकुद परिषद्को आर्थिक सहयोग, मन्थली नगरपालिकाको सह प्रायोजन तथा नेपाल माझी उत्थान संघ र न्यु स्टार युवा क्लबको आयोजनामा भएको हो । उक्त प्रतियोगीताको उद्घाटन गर्ने क्रममा सदस्य सचिव घिसिङ्गले जुन बेला नदीमा झोलुुङ्गे पुल र मोटरेवल पुन नहुँदा माझी समुदायले काठको डुङ्गा मार्फत नदी वारपार गर्ने पुख्र्यौली पेशा अहिले जताततै झोलुङ्गे र मोटरेबल पुलका कारण विस्थापित हुँदै गएको भन्दै मानव सभ्यता, पहिचान र सभ्यतासँग जोडिएको यो पेशालाई संरक्षण गर्न पनि डुङ्गा चलाउने प्रतियोगीतालाई राष्ट्रिय प्रतियोगीतामा सहभागीता गराउने प्रतिवद्धता समेत व्यक्त गरे । उनले डुङ्गा माझी समुदायको सभ्यतासँग जोडिएको खेल भएकोले यसलाई जोगाउनु पर्नेमा जोड दिए ।

सोही कार्यक्रममा बोल्दै रामेछापका प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम)ले माझी समुदायको थाक थलो र पहिचान जोगाउनको लागि आफू सधै प्रतिबद्ध भएर लाग्ने बताए । उनले अहिले माझी समुदाय बसोवास गरेको स्थानमा मरिण डाइर्भसन र सुनकोशी जलविद्युत आयोजना निमार्ण हुन लागेको र त्यसवाट धेरै माझी समुदायको बस्ती नै उठन्े भएकाले यस बिषयमा संसदमा कुरा उठाएर भएता पनि वस्ती जोगाउन आफु लागि पर्ने र माझी समुदायको विकास निमार्ण जस्ता कार्यमा आफु सधै लागि पर्ने बताए ।

त्यसैगरी प्रतिनिधि सभा सदस्य उर्मिला माझीले मरिण डाइभर्सनको कारण माझी समुदायका पहिचान मेटिने हो कि भन्ने चिन्ता रहेको भन्दै माझी समुदायको पहिचान संरक्षण हुने गरी काम गर्नुपर्ने बताइन । उनले मरिण डाइभर्सनको कारण रामेछापका माझीले केही क्षति बेहोर्नुपर्ने र सिन्धुलीको मरिणका माझीले धेरै लाभ पाउने अवस्था देखिएकाले रामेछापका माझी समुदायलाई पनि लाभ पुग्ने गरी काम गर्नुपर्ने बताइन ।

एकदिन चल्ने उक्त प्रतियोगितामा रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, काभ्रे, सर्लाही, सुनसरी लगायतका जिल्लाका माझी समुदायले उक्त प्रतियोगीतामा भाग लिएका छन् । दुई भागमा विभाजन गरेको उक्त खेलमा दुई जना संलग्न सिङ्गल इभेन्ट तर्फ ३१ टिमले भाग लिएका छन् । त्यस्तै चार जना संलग्न रहेको डबल इभेन्ट तर्फ ३५ टिमले भाग लिएका छन् । प्रतियोगितामा एकल तर्फको विजयी टिमलाई प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने टिमलाई क्रमशः ३० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार तथा प्रमाणपत्र बिरतण गरिने छ ।

त्यस्तै डबल तर्फ प्रथम, द्धितिय, तृतीय र सान्तवना हुने टिमलाई क्रमशः ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । उक्त कार्यक्रमको उद्घाटन न्यु स्टार युवा क्लबका अध्यक्ष नवराज माझीको अध्यक्षतामा भएको थियो।

Scroll to Top