रामेछाप । बारीमा लगाएको अन्नपात खान आएका बादर लखेट्ने क्रममा भिरवाट लड्दा मन्थली नगरपालिका–८ चिसापानीका ६५ बर्षिय बृद्ध ठेटवहादुर ढुंगेल गम्भिर घाइते भएका छन् ।

सोमवार दिउँसो घरको छेउको बारीमा आएका बादर लखेट्ने क्रममा भिरवाट लड्दा ढुंगेल घाइते भएका हुन् । उनलाई तत्काल घटनास्थलवाट उद्धार गरी उपचारको लागि मन्थली अस्पताल ल्याइएकोमा उनको उक्त अस्पतालवाट उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीले जानकारी दिए । उनका अनुसार घाइते ढुंगेलको टाउँकोमा गम्भिर चोट लागेको छ ।
चिसापानीमा वर्षेनी अत्याधिक मात्रामा बादरले दुख दिने गरेको छ । वारी तथा खेतमा लगाएको अन्नवाली बादरले खेतवारीमा नै सखाप पार्ने गरेको छ । खेत तथा वारीमा अन्नपात नपाएपछि बादरले नागरिकहरुको घरमा समेत पसेर अन्नपात खाने गरेको छ । वर्षेनी बादरले दुःख दिएपछि स्थानिय गाउँलेहरुले बादर धपाउन विभिन्न जुक्तीहरु समेत निकाले तर उनीहरुले निकालेको कुनै पनि जुक्तीले पनि बादर खेदाउन भने सकेनन् ।


किसानहरुले लगाएको खेतीपाती नपाक्दै बादरले खाएर सक्नथालेपछि उनीहरुले स्थानिय वडा कार्यालयमा वजेट समेत माग गरेका थिए । सम्वन्धित वडा कार्यालयले विगत वर्षहरुमा बादर धपाउन वजेट समेत विनियोजन गरेर हेरालु समेत राखेका थिए । यसपटक पनि वडा कार्यालयले एउटा वादर समाउनेलाई एकहजार रुपैयाँ इनाम दिने घोषणा गरेको छ । पछिल्लो समय गाउँमा जनसंख्या घट्दै गएको सामुदायिक जंगलहरु बढ्दै जाँदा बादरको संख्या बृद्धि भएको छ ।
घरमा भएका युवा पुस्ता रोजगारीको सिलसिलामा बाहिरी जिल्ला त केही वैदेशिक रोजगारीको लागि विदेशीएका कारण अहिले गाउँघरमा बृद्धबृद्धा र कलिला बालबालिकाहरु मात्रै रहेका छन् । अर्कोतिर खेत तथा वारीमा लगाएको अन्नवाली वादर, धुम्सी, स्याल, खरायो, मृग जस्ता जंगली जनावरले खाएर सक्ने भएपछि पछिल्लो समय खेतीपाती लगाउने संख्यामा समेत गिरावट आएको छ ।




