रामेछाप । बृद्धबृद्धालाई शरिर बन्धक बनाई डाँका चोरी गर्ने ७ गिरोहलाई रामेछाप प्रहरीले आइतवार भक्तपुर जिल्लाको विभिन्न स्थानवाट पक्राउ गर्न सफल भएको छ ।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३३ बर्षिय पशुपति श्रेष्ठ र ३२ वर्षिय दिर्घराज मोक्तान रहेका छन् । त्यस्तै सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका– २ का २५ वर्षिय सुमन जर्घामगर, झापा जिल्ला दमक नगरपालिका–७ का ४४ वर्षिय पिताम्बर गहतराज र धनकुटा जिल्ला बेलाहारा नगरपालिका–५ का ३८ बर्षिय गुणराज विश्वकर्मा रहेका छन् । उनीहरुलाई सोमवार पत्रकार सम्मेलन गरि प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुले भदौ १८ गते राती रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोल स्थित ८५ वर्षिय बखतमान लामा र उनकी श्रीमती ८६ बर्षिय कान्छीमाया तामाङको घरको मुल ढोका तोडी भित्र प्रबेश गरेर सुतिरहेका बृद्धबृद्धाको हातमा प्लाष्टिकको टेपले बाधेर मुख थुनी आँखामा पट्टी बाँधेर कराएको खण्डमा ज्यान मार्नेसम्मको धम्की दिई गरगहना तथा घरमा राखेको नगद समेत लुटी डाँका गरि फरार भई भक्तपुर जिल्लाको विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए ।



त्यसैगरी उक्त घटना घटाउने मुख्य नेतृत्वदायी भूमिका खेल्ने पशुपति श्रेष्ठ सहितको टोलीले खाँडादेवी गाउँपालिकाको रुद्रेश्वर महादेव मन्दिरमा रहेको दान पेटिका समेत फुटाई त्यहाँ भएको रकम चोरी गरेका थिए । त्यस्तै असार १ गते खाँडादेवी गाँउपालिका–३ की सुन्दरी श्रेष्ठको घरबाट एउटा खसी र भदौ ७ गते खाँडादेवी गाउँपालिका–३ भिरपानीका रामबहादुर श्रेष्ठको एउटा बोका समेत चोरी गरेको उनीहरुसँगको बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।
यसरी खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा श्रृखलारुपमा चोरी गर्ने समुह पटके चोरीमा संलग्न रहेको खुलेको छ । जसमा डाँका तथा चोरीका मुख्य नाइके मानिएका पशुपति श्रेष्ठले काठमाण्डौंका विभिन्न स्थानमा सुनको सिक्री लुट्ने घटनामा संलग्न रहेको र २०८० साल असोज १४ गते प्रहरी बृत कालीमाटीले उनीविरुद्द डाँका तथा चोरी कसूरमा मुद्दा चलेका व्यक्ति हुन भने दीर्घराज मोक्तान अभ्रद व्यवहार र गुणराज विश्वकर्मा जुवा सम्वन्धि कसुरमा मुद्धा चलेका व्यक्ति भएको रामेछाप प्रहरीले जनाएको छ ।
यसैगरी भदौ १८ गते रामेछापको सुनापती गाउँपालिका–२ दिमीपोखरीका ७५ बर्षिय इमानसिं तामाङको घरबाट ७८ हजार चोरी गरेको अभियोगमा थप दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछापको सुनापती गाउँपालिका–२ नयाँ पानी ट्याङ्की टोलका ३४ वर्षिय आकाश लामा र उनका छोरा १९ वर्षीय सन्दिप तामाङ रहेका छन् । पक्राउ परेकाहरुकाे साथवाट प्रहरीले नगद, माेबाइल र उनीहरुले प्रयाेग गरेकाे माेटरसाइकलसमेत बरामद गरेकाे छ ।




