रामेछाप । गुडिरहेको गाडीले सडक पार गर्दै गरेकी एक बृद्धालाई ठक्कर दिदा घाइते भएकी छिन् ।

घाइते हुनेमा मन्थली नगरपालिका–७ भटौली स्थित राम्चेकी ६५ बर्षिय मनोमाया श्रेष्ठ रहेकी छिन् । उनी सोमवार दिउँसो सदरमुकाम मन्थलीको राष्ट्रिय बाणिज्य बैंक अगाडीको पुष्पलाल राजमार्गको सडक पार गर्दैगर्दा मन्थलीवाट खुर्कोटतर्फ जार्दै गरेको को १ च ९६३५ नम्वरको स्कार्पियो गाडीले ठक्कर दिएको थियो ।
गाडीको ठक्करवाट घाइतेलाई तत्तकाल घटनास्थलवाट उद्धार गरि उपचारको लागि मन्थलीकै देवकोटाचोकमा रहेको रामेछाप सामुदायिक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उक्त घटनापछि प्रहरीले चालक र गाडी नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान अघि वढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतले जानकारी दिए ।


पछिल्लो समय मन्थली बजारमा ट्राफिक प्रहरी उपस्थिती मात्रै देखिनु र सवारी चेकजाँचमा कडाई नगर्दा दैनिक सदरमुकाम मन्थलीमा सवारी दुर्घटनाहरु हुने गरेका छन् । मुख्य गरि जिल्ला समन्वय समिति देखी तामाकोशी सेवा समितिसम्मको सडक एरियामा मुख्य सडकमै गाडी पार्किङ्ग गरि राख्ने, सवारी चापको समयमा पनि व्यवसायीहरुले सामान लोड अनलोड गर्ने जस्ता कार्यहरु गर्दा दैनिक जसो सवारी दुर्घटनाहरु हुने गरेका छन् ।




