
रामेछाप । जिल्लाको एक मात्र स्ववियु मान्यता प्राप्त क्याम्पस शहिद स्मृति बहुमुखी क्याम्पसको मंगलवार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेदवार सुशिल थापा विजयी भएका छन् ।

अध्यक्ष पदमा भएको मतदानमा अनेरास्ववियुका थापाले २ सय ७ मत प्राप्त गरी विजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका उम्मेदवार विपुल रोकाले १ सय ५२ मत मात्र प्राप्त गरेका थिए । त्यस्तै अध्यक्ष पदका अर्का प्रत्यासी अख्रिल क्रान्तिकारीका अनोज भुजेलले ६५ मत मात्र प्राप्त गरेका थिए ।

त्यसैगरी स्ववियुुको सचिव पदमा अनेरास्ववियुका मुकेश भण्डारीले १ सय ८५ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका युवराज बुढाथोकीले १ सय ६५ मत मात्र प्राप्त गरेका छन् भने अर्का प्रत्यासी अख्रिल क्रान्तिकारीका उम्मेदवार विनिता माझीले ७० मत मात्रै प्राप्त गरेकी थिइन ।
त्यस्तै कोषाध्यक्ष पदमा अनेरास्ववियुकै मसली तामाङले २ सय ३ मत प्राप्त गरी विजयी विजयी भएकी छिन् । उनका प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघकी छाया तामाङले १ सय ३६ मत मात्र प्राप्त गरेकी छिन् भने अख्रिल क्रान्तिकारीका उम्मेदवार रामकुमार श्रेष्ठले ७९ मत मात्रै प्राप्त गरेका थिए ।
अन्य सदस्य पदमा भएको निर्वाचनमा अनेरास्ववियुुका चारजना उम्मेदवार निर्वाचित भएका छन् भने एकजना नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन् । यस अघिको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका थिए । मन्थली शहिद बहुमुखी क्याम्पसमा ५ सय ३१ जना मतदाता रहेकोमा जम्मा ४ सय २७ मत मात्रै खसेको निर्वाचन समितिले जनाएको छ ।