रामेछाप । रामेछापको उच्च लेकाली भूभागमा यस वर्ष पहिलो पटक बुधवार हिमपात भएको छ । हिमपात भएसँगै स्थानियहरु हर्षित भएका छन् ।

उच्च लेकाली भूभागमा पर्ने जिल्लाको दोरम्वा शैलुङ्ग गाउँपालिकाको शैलुङ्ग क्षेत्र र उमाकुण्ड गाउँपालिकाको लाहाछेवर लगाएतका क्षेत्रमा हिमपात भएको छ । बिगत वर्षहरुमा मंसिर, पुसमा हुने हिमपात यसवर्ष माघ महिनाको दोश्रो हप्तामा पहिलो पटक भएको हो । यसवर्ष हिउँदको हिउँ नै नपरी जान्छ की जस्तो भएको थियो, तर ढिलै भएपनि हिमपात भयो दोरम्वा शैलुङ्ग गाउँपालिका १ का जनक लामाले बताए ।
हिउँ परेसगै लेकाली भुभागका किसानहरु हर्षित भएका छन् । हिउँले खाएको माटो बढी मलिलो हुने र जमिनमा ओस प्रसस्त पुग्ने भएकाले किसानहरुले लगाएको अन्नवाली तथा हिउँदे तरकारीहरु उत्पादनमा बृद्धि हुने उमाकुण्ड गाउँपालिका २ की लक्ष्मी तामाङले बताइन । उनले भनिन् लेकाली भुभागमा परेको हिउँले तलका स्थानमा पानीको मूल समेत फुट्ने गर्दछ । जसले गर्दा माथिल्लो क्षेत्र र तल्लो भुभागमा समेत फाइदा पुग्ने बताइन ।


जिल्लाको माथिल्लो भेगमा बढी मात्रामा आलु, गहुँ, उवा तथा गेडागुडी, अन्य तरकारी बालीहरु प्रस्तस्त मात्रामा हुने गर्दछ । हिउँदको समयमा लेकाली भुभागमा हिउँ नपर्दा आलु, तथा अन्य तरकारी बालीहरु उत्पादनमा गिरावट आउने भएकाले किसानहरु हिउँ पर्ने आशामा बस्ने गरेका छन् । हिउँ परेसँगै किसानहरुको मुहारमा खुशि छाउने गरेको छ ।




