रामेछाप । रामेछापका ९६ वट मतदानस्थल मध्ये ४१ वटा मतदानस्थल अति संवेदनशील सूचीमा राखिएको छ ।

यसवाहेक ३५ वटा मतदान स्थल संवेदनशील रहेका छन् । जिल्लाको भौगोलिक विकटता, सुरक्षा अवस्था, सडकको पहुँच र सञ्चारको पहुँच लगायतलाई मध्यनजर गरेर अति संवेदनशील र संवेदनशील मतदानस्थल वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
उनका अनुसार–अति संवेदनशिल मतदान स्थलमा तेह्र, संवेदनशील मतदान स्थलमा ९ र सामान्य मतदान स्थलमा ८ जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा व्यवस्थापन गरिएको बताए । सुरक्षा व्यवस्थापन सँगै मतदाताहरु मतदान स्थलसम्म आउजाउ गर्न सहज तरीकाले व्यवस्थापन मिलाइने छ । जिल्लामा ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जसमध्ये २० वटा मतदान स्थल सामान्य रहेका छन् ।


निर्वाचनको लागि आवश्यक पर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र निर्वाचन प्रहरी परिचालनको लागि आवश्यक सवै व्यवस्थापन गरिसकेको छ । जिल्लामा अपुग सुरक्षाकर्मी र निर्वाचन प्रहरी बाहिरी जिल्लावाट मगाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रामेछापमा यसपटकको प्रतिनिधिसभा निर्वाचनमा कुल एक लाख ८७ हजार ९५२ जना मतदाताले मतदान गर्ने छन् । जसको लागि जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।




