सेतो सिमीको माग बढेसँगै खेती गर्ने कृषक उत्साहित

रामेछाप । जिल्लाको उच्च लेकाली भू–भागमा रैथाने बालीको रुपमा लगाइदै आएको सेतो सिमीको माग बढेसँगै यस खेती गर्ने कृषकहरु उत्साहित भएका छन् ।

उच्च लेकाली भू–भागमा हुने सेतो सिमी स्वास्थ्यको दृष्टिकोणले अति नै गुणकारी हुने भएकाले यस सिमीको माग पनि उच्च रहेको छ । कृषकहरुले उत्पादन गरेको सिमी गाउँमै राम्रो मूल्यमा विक्री हुने भएपछि किसानहरुले सिमी बिक्री गर्न बजारसम्म धाउनु नै पर्दैन । किसानहरुले उत्पादन गरेको सिमी प्रतिपाथी ६ सय रुपैयाँ देखी ७ सयसम्म गाउँमै विक्री हुने गरेको छ ।

सेतो सिमीमा धेरै नै पोष्टिक तत्वले भरीपूर्ण हुने भएकाले पनि यसको सेवनले मानव स्वास्थ्यमा फाइदा पुग्ने गर्दछ । उच्च लेकाली भू–भागको हावापानीमा मात्रै हुने यो सिमी विशेषगरी उमाकुण्ड गाउँपालिकाको गुम्देल, बाम्ती, प्रिती, कुभुकास्थली र गुप्तेश्वर लगाएतका वडाहरुमा खेती गरिदै आएको उमाकुण्ड गाउँपालिकाकी उपध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन ।

उनले भनिन्– सेतो सिमी लेकाली भूभागमा मात्रै पाइने भएकाले स्वादको हिसावले धेरै स्वादिष्ट हुने र किसानहरुले मूल्य पनि राम्रो पाउने भएपछि पछिल्लो समय सिमी खेती गर्ने किसानको संख्यामा बृद्धि भएको छ । सेतो सिमीको माग वजारमा धेरै नै भएकाले पनि किसानहरुले उत्पादन गरेको सिमी माग अनुसार पुर्याउन सकेका छैनन् । अन्य वालीको तुलनामा लगाउन पनि सजिलो र मूल्य पनि राम्रो आउने भएपछि किसानहरु यस खेतीतर्फ आर्कषित भएका उपाध्यक्ष सुनुवारले बताइन ।

उमाकुण्डको अलावा गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीमा पनि पछिल्लो समय सेतो सिमी खेती गर्ने कृषकहरुको संख्या बढेको छ । सिमी किन्न गाउँमै व्यापारीहरु पुग्ने गरेका छन् । किसानले उत्पादन गरेको सिमी काठमाण्डौंका ठूलाठूला रेष्टुरेन्ट, होटलहरुमा दालको रुपमा प्रयोग गरिन्छ । केहीले सेतो सिमीलाई तरकारीको रुपमा प्रयोग गर्ने गरेका छन् भने केहीले उसिनेर पनि खान मिल्ने गोकुलगंगा गाउँपालिका–३ रस्नालुका शोभा सुनुवारले जानकारी दिइन ।

उनले भनिन्– हामीले उत्पादन गरेको सिमी सिधै काठमाण्डौंमा पुग्ने गरेको छ । काठमाण्डौंका व्यापारीले उहीँवाट फोन गरेर अर्डर गर्ने गरेका छन् । घर वरपर छिमेकीले लगाएको सिमी समेत संकलन गरेर राख्ने र व्यापारीलाई फोन गरेपछि उनीहरु यहिँ आएर लैजाने गरेकाले आफुहरुलाई उत्पादन गरेको चिज विक्री हुन्छ की हुँदैन भन्ने चिन्ता नै नभएको सुनुवार बताउँछिन ।

केही वर्षअघिसम्म थोरै किसानहरुले लगाउँदै आएको सेतो सिमीको खेती पछिल्ला वर्षहरुमा यस खेतीलाई विस्तार गरी धेरै किसानहरुले व्यवसायीक रुपमा खेती गर्दै गर्न थालेका छन् । उच्च लेकाली भू–भागमा रैथाने वालीको रुपमा रहेको यो खेतीलाई अझ वढाउँन सके किसानहरुको आर्थिक अवस्था निकै सुधार हुने उमाकुण्ड गाउँपालिका–४ प्रितीका मानवहादुर खत्रीले जानकारी दिए ।

उनले भने– नयाँ आधुनीक तरिकाले खेती गर्नुपर्नेमा अहिले पनि किसानहरुले उचित आर्थिक तथा प्राविधिक सहयोग पाउन नसक्दा परम्परागत तरीकाले नै खेती गर्दै आएका छन् । अहिलेको आधुनीक तरिका, बीउँविजन, समयसमयमा प्राविधिक सहयोग पाउन सके यो खेती अझ विस्तार गर्न सकिने पनि कृषक खत्रीले बताए ।

Scroll to Top