![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/8-Palika-Add-Final.gif)
रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीका कृषक रामवहादुर शाहीले भदौरे कालिका कृषि तथा पशु पंक्षी फार्म दर्ता गरी ड्रागन फ्रुट सँगै मनै लोभ्याउने गरी सयपत्री फूल खेती गरेका छन् ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/05/Untitled-300-×-600-px-1456-×-180-px.gif)
नेपालीहरुको दोश्रो ठूलो महानचाड तीहार नजिकीदै गर्दा सयपत्रीको माग धेरै हुने भएकाले कृषक शाहीले सयपत्री फूल लगाएका हुन् । उनले ड्रागन फ्रुट सँगै सयपत्री फूल फुलेसँगै यतिखेर घर वरपरका बारी पहेँलपुर र मनमोहक भएको छ । कृषक शाहीले लामो समयसम्म बाँझै रहेको ५ रोपनी जग्गामा खनजोत गरी ड्रागन फ्रुट खेतीको शुरुवात गरेका थिए ।
![](http://palpalkokhabar.com/wp-content/uploads/2023/03/Suchana.gif)
लामो सयमसम्म राजधानी काठमाण्डौंमा सञ्जय नर्सरी स्थापना गरी बसेका शाहीलाई एकाएक आफ्नो जन्मभूमीमा फर्केर केही गरौं भन्ने हुटहुटी जागेर ४२ वर्षपछि आफ्नै गाउँमा आएर नर्सरी स्थापना गरी ड्रागन फ्रुट खेती शुरुवात गरेका हुन् । उनले हाल ३ रोपनी जग्गामा ड्रागन फ्रुट र २ रोपनी जग्गामा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती गरेका छन् ।
उनले उत्पादन गरेको ड्रागन फ्रुट प्रति केजी ३ सय ५० रुपैयाँ र सयपत्री फूल प्रति केजी २ सय ५० रुपैयाँमा विक्री वितरण गर्दै आएका छन् । एक केजी सयपत्री फूलबाट ४ देखी ५ वटा माला तयार हुने गर्दछ । तिहारमा अत्याधिक मात्रामा सयपत्री फूलको माग वजारमा भएकाले उनले यो खेती गरेका हुन् । उनले उत्पादन गरेको सयपत्री फूल रामेछापको अलावा सिन्धुली, दोलखा र काभ्रे लगाएतका जिल्लाहरुमा समेत पुग्ने गरेको छ । तीहारमा सयपत्रीको माला मात्रै विक्री गरेर ३ देखी ५ लाख रुपैयाँ कमाई हुने अपेक्षा कृषक शाहीले राखेका छन् ।
![](https://palpalkokhabar.com/wp-content/uploads/2024/10/IMG_20241020_083501-980x551-1.jpg)
वर्षौसम्म बाँझो रहेको पाखो वारीमा नर्सरी स्थापना गरी खेती शुरुवात गरेका शाहीको वगान हेर्न जाने मानिसहरुको घुईचो लाग्ने गरेको छ । बारीभरी लटरसम्मै फूलेको सयपत्री फूलले वरपरको वस्तीसम्म सुगन्धीत बनाएको छ । अहिले शाहिको नर्सरी र बँगैचामा घुम्न र फोटो खिच्न जानेको संख्या बढ्दो छ ।
वनमाराको झाडी मासेर दुई वर्षअघि शाहीले ड्रागन फ्रुट खेती शुरुवात गरेका थिए । दुई सय पिलरमा आठ सय बोट ड्रागन फ्रुट रोपेका उनले त्यससँगै सयपत्री फूल पनि रोपेका हुन । एउटै जग्गाबाट अहिले उनले दोहोरो लाभ लिन सफल भएका छन् । सयपत्री फूल खेती बाहेक विभिन्न प्रजातिका विरुवाहरु उत्पादन गर्न नर्सरीको समेत व्यवस्था गरेको कृषक रामवहादुर शाहीले जानकारी दिए ।
उनले भने– २०५३ सालदेखी मैले काठमाण्डौंमा नर्सरी स्थापना गरी बसेको थिए । त्यहाँ नर्सरी गर्दा धेरै अनुभव बटुलेपछि आफ्नै जन्मभूमीमा केही गरौं भन्ने सोच आएपछि गाउँमा फर्केर यो व्यवसाय संञ्चालन गरेको हँु । आफ्नै देशमा काम गर्दा सरकारले पनि सहयोग गर्ने र मेहेनत गरे कमाई पनि राम्रै हुने भएकाले आफुलाई विदेश जानु भन्दा आफ्नै देशमा केही गरौं भन्ने सोच आएर यो पेशा शुरुवात गरेकोमा अहिले मलाई स्थानिय तहले पनि आर्थिक सहयोग गरेकाले झनै खुशी लागेको बताए ।
कृषक शाहीलाई मन्थली नगरपालिकाले फूल खेतीका लागि १ लाख अनुदान रकम दिएको मन्थली नगरपालिका–५ का वडा अध्यक्ष रविन कार्कीले जानकारी दिए । उनले भने– बाँझो रहेको जग्गामा शाहीले स्थापना गरेको नर्सरी देखेर सबै मोहित भएका छन् । त्यतीकै खाली छोडेका बाँझा जग्गामा पनि केही गरौं भन्ने हुटहुटी वरपरका किसानहरुलाई पनि सकारात्मक प्रभाव परेको अध्यक्ष कार्कीले बताए ।
कृषक शाहीले गरेको मेहेनत देखेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जुनार जोन कार्यक्रममार्फत कागतीका विरुवा उत्पादनका लागि ५ लाख अनुदान रकम उपलव्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका प्रमुख थिरलाल गैरेले जानकारी दिए ।