परम्परागत रैथाने बाली लोप हुँदै

रामेछाप । जिल्लामा परम्परागत रैथाने बालीहरु लोप हुन लागेको छ । नयाँ किसिमका उन्नत जातका बालीहरु भित्रन थालेपछि बर्षौदेखी लगाउँदै आएको रैथाने बालीहरु रामेछापबाट लोप हुन लागेको हो । 
यसरी लोप हुनलागेको बालीहरुमा लेकाली भू–भागमा हुने चिनो, कागुने र उवा तथा बेसी भू–भागमा हुने मस्याङ्ग र जुनेलो बाली लोप हुन लागेको हो । परम्परागत रुपमा खेती गरिदै आएको यी बालीहरु उत्पादनमा कमी हुनथालेपछि पछिल्लो समय किसानहरुले लगाउन छाडेका हुन् । जलवायु परिर्वतनका कारण समयमा पानी नपर्नु, भनेको समयमा बीउँ नपाउनु, उत्पादीत वस्तुले वजार नपाउनु र बाली लगाउने समय भन्दा पछि लगाउँदा उत्पादनमा कमी भएकै कारण किसानहरुले बाली लगाउन छाडेका मन्थली नगरपालिका–१ का किसान डिलवहादुर सार्कीले जानकारी दिए । 
उनले भने– बेसी भू–भागमा परम्परागत रुपमा लगाउँदै आएको मस्याङ्ग र जुनेलो अहिले भेटन् नै मुस्किल पर्छ । हिउँदको समयमा बारीमा लटरमम्म फूल खेल्ने र कोसा लाग्ने मस्याङ्ग अहिले सिला खोज्दा समेत भेटिदैन् । किसानले बाली लगाउने समयमा वर्षात नहुनु, समयमा वर्षात भइहाले पनि हिउँदको समयमा खडेरी पर्नु जस्ता समस्याले बालीहरु लोप हुन लागेका हुन् । खाजा र खानाको रुपमा मस्याङ्ग तरकारी र पिसेर दालको रुपमा प्रयोग गरिन्थ्यो भने जुनेलोको दाना भुटेर खाजाको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । यी बालीहरु लोपहुन थालेपछि अहिले खाजाको रुपमा चिउरा र दालको रुपमा बजारमा पाइने बिभिन्न प्रजातीका वाह्य जिल्लावाट आयातित सामाग्रीहरु खरि गरेर खानुपर्ने बाध्यता रहेको छ । 
लोप हुनलागेको रैथाने बाली जोगाउँन कृषि ज्ञान केन्द्र रामेछापले बिभिन्न कार्यक्रमहरु संचालन गर्न लागेको छ । किसानहरुलाई रैथाने बाली लगाउँदा हुने फाइदा, बाली लगाउने तरिका र किसानले लगाएको बालीको बजारको ग्यारेन्टी लगाएतका बिषयमा किसानहरुलाई जानकारी गराउन थालेको हो । लोप हुन लागेको रैथाने वालीको बीउँ अहिले कृषि ज्ञान केन्द्रको एउटा सिसाको दराजमा मात्रै सिमित राखेको छ । 
कार्यालयमा आउने किसानहरुलाई रैथाने वालीको फाइदाका बिषयमा बताउने र रैथाने बाली जोगाइराख्न अपनाउनु पर्ने विधिको बिषयमा सवै किसानलाई जानकारी गराउने गरिएको कृषि ज्ञान केन्द्र रामेछापका कृषि प्रसार अधिकृत बिवेकान्त महतले जानकारी दिए । उनले भने– रामेछापवाट लोप हुनलागेको रैथाने वाली जोगाउँनका लागि कार्यालयले किसानहरुसँग भेटघाट, छलफल लगाएतका कामहरु गर्दै आएको छ ।
रैथाने बाली जोगाउने उद्धेश्यले प्रदेश सरकारले आवश्यक वजेटको व्यवस्थापन गरेको छ । सोही बजेटको परिधि भित्र रहेर विभिन्न चेतना मुलक कार्यक्रमहरु संचालन गरिने कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । 
Scroll to Top