रामेछाप । मन्थली नगरपालिकामा गाईभैसीमा फैलिएको लम्पी स्किन रोग सङ्क्रमणबाट ७ वटा चौपाया मरेसँगै पशुपालक किसानहरु चिन्तित भएका छन् ।
मन्थली नगरपालिकाभित्रका १४ वटा वडामा एकैपटक लम्पि स्कीन रोग फैलिएको र हालसम्म मन्थली नगरपालिकाको वडा नं १,३ र ५ मा एक÷एक वटा र वडा नं ६ भलुजोरमा ४ गरी ७ वटा पशु मरेको मन्थली नगरपालिका पशुसेवा उपशाखाका सहायक पशुु विकास अधिकृत मुकुन्द खड्काले जानकारी दिए । उनका भने– हाल भलुवाजोरमा सङ्क्रमण दर व्यापक रूपमा फैलिएको छ । यस रोगबाट पशुचौपायालाई जोगाउन नगरपालिकाले १ हजार २ सय डोज भ्याक्सिन खोप लगाउन शुरु गरेको छ । किसानको माग भ्याक्सिनको धेरै आएता पनि भ्याक्सिन पाउन नसक्दा पालिकाले भनेजति भ्याक्सिन खरिद गर्न नसकेको पशु अधिकृत खड्काले बताए ।
नगरपालिकाले पहिलो चरणमा धेरै संक्रमण भएको स्थानको पहिचान गरिएका वडा नं १, ४, ५, ६ र १३ नम्बरका किसानले पालेका गाई, गोरु र भैँसीमा लम्कि रोगको भ्याक्सिन लगाउन शुरु गरिएको हो । यो रोगको रोकथामको उपाय भनेको खोप नै हो, यसैलाई ध्यानमा राखेर नगरले १२ हजार डोज खोप खरिद गरी सङ्क्रमण बढी मात्रामा फैलिएको १, ४, ५, ६ र १३ नम्बर वडामा गाई, गोरु र भैँसीमा लगाई सकिएको छ ।
लम्पी स्किन रोग लागेका गाई÷भैँसीमा ज्वरो आउने र शरीरको विभिन्न भाग तथा भित्री तहमा गाँठा गुठी देखिने, गाँठा गुठीबाट पानी बग्ने र पाक्ने, पशु छटपटाउने, दुब्लाउँदै जाने, खुट्टा खोच्याउने, दूध उत्पादन घट्नेलगायत लक्षण देखा पर्छ । यो रोगको प्रभावकारी उपचार पनि नभएकाले रोगी पशुहरूलाई बथान बाट अलगै राख्ने, किर्ना लाम्खुट्टे जस्ता परजीवी निराकरण गर्ने, जैविक सुरक्षाको विधि कडाइका साथ पालना गर्नुपर्ने पशु प्राविधिकहरु बताउँछन् ।
यो रोगबाट पशुमा हुने मृत्युदर कम भए पनि दुहुना पशुको दूध उत्पादनमा ८० प्रतिशतसम्म ह्रास हुने गर्दछ । पशु चौपायामा लागेको यो रोग २५ दिन देखी एक महिनासम्म सङ्क्रमण देखिने गर्दछ । पशु वस्तुमा खोपले काम गर्न पनि करिब तीन हप्ता लाग्ने र फेरी रोग देखा परेपछि खोपले पनि काम गर्दैन । मन्थली नगरपालिकाको १४ वटै वडामा गरी १५ हजारको हाराहारीमा गाईगोरु किसानले पालन गर्दै आएको अनुमानित तत्थाङ्क पशुसेवा उपशाखामा रहेको छ ।