रामेछाप । खाँडादेवी गाउँपालिका–७ माकादुममा किसानहरुले परम्परागत रुपमा लगाउँदै आएको बालीको उत्पादनमा बर्षैैपिच्छे गिरावट आउन थालेपछि बैकल्पीक खेतीको रुपमा कागती खेतीको शुरुवात गरेका छन् ।
वडा कार्यालयको पहलमा सबै किसानको करेसाबारीमा कागती खेती गर्ने अभियानका साथ पहिलो पटक ५ हजार कागतीका विरुवा लगाइएको छ । माकादुमका नागरिकको आर्थिक स्तरमा बृद्धि गर्ने उद्धेश्यका साथ गैरसकारी संस्था मातृभूमि नेपालले प्रतिघर १० देखी २० वटासम्म कागतीका विरुवा निःशुल्क रुपमा वितरण गरेको हो । वडाका नागरिकहरुको आर्थिक स्तर उकास्न मद्धत पुग्छ भन्ने हेतुले सबै किसानको करेसावारीमा कागती खेती अभियान संचालन गरिएको वडा अध्यक्ष नारायण कार्कीले जानकारी दिए ।
उनले भने– मातृभूमी संस्थाको सहयोगमा पहिलो पटक ५ हजार कागतीका विरुवा किसानलाई हस्तान्तरण गरेका छौं । वर्षात भइरहेकाले धेरै विरुवा जोगाउन सकिन्छ भन्ने छ । यसवर्ष केही विरुवा मरे भने त्यसको सट्टामा अर्कोवर्ष पनि त्यही अनुसार विरुवा किसानलाई हस्तान्तरण गर्ने अभियानमा छौं । माकादुम उच्च भुभाग हावा पानी पनि सुहाउँदो भएकाले कागती अत्यन्तै राम्रो हुन्छ । किसानले एक÷दुई वर्षमै कागतीवाट आम्दानी लिन सक्ने आशा आफुले राखेको अध्यक्ष कार्कीले बताए ।
माकादुमका किसानहरुले परम्परागत रुपमा लगाउँदै आएको मकै, कोदो, गहत, मस्याङ्ग लगाएतका अन्न बालीहरु लगाउँदै आएता पनि समयमा पानी नपर्ने र उत्पादनमा पनि बषैैपिच्छे ह्रास हुँदै गएपछि त्यसको विकल्पमा वैकल्पीक वाली लगाउने सोचमा किसान पुगेका थिए । किसानको माग सम्वोधन गर्न वडा अध्यक्ष कार्कीले कागती खेतीको शुरुवात गरेका हुन् । कागती खेतीवाट केही वर्षमा नै मनग्न आम्दानी लिन सकिने र कागतीलाई पानी पनि कम भए पुग्ने र वजार मूल्य पनि राम्रो भएकाले माकादुम गाउँनै कागती मय बनाउने योजना अघि सारेर यो अभियान संचालन गरेको वडा अध्यक्ष कार्की बताउँछन् ।
मातृभूमि नेपाल संस्थाले देशभरका ६ हजार ७ सय ४३ वडामा ६७ लाख ७६ हजार ९ सय ४४ वटा कागतीको बिरुवा वितरण गर्ने लक्ष्य लिएको छ । संस्थाको लक्ष्य अनुसार रामेछापको खाँडादेवी गाउँपालिकाको माकादुममा ५ हजार विरुवा वितरण गरिएको र आगामी दिनमा अन्य वडाहरुमा पनि विरुवाहरु वितरण गरिने मातृभूमी नेपालका उपाध्यक्ष युवराज श्रेष्ठले जानकारी दिए ।