रामेछापमा ४५ प्रतिशत मात्रै धान रोपाई

रामेछाप । साउन महिनाको दोश्रो हप्ता लाग्दा रामेछापमा जम्मा ४५ प्रतिशत मात्रै खेतमा धान रोपाई भएको छ ।

वर्षातको समयमा समेत पानी नपर्दा खोलानाला सुकेसँगै रामेछापमा धान रोपाई हुन नसकेको हो । आकाशे पानीको भर परेर धान रोप्नुपर्ने वाध्यतावाट रामेछापका किसानले मुक्ती पाउन सकेका छैनन् । खेतीयोग्य जमिन मुनीवाट ठूलाठूला नदी बगीरहदा ती नदीको पानी खेतीयोग्य जमीनमा सिंचाईको लागि ल्याउने योजना रामेछापका कुनै पनि स्थानिय तहको प्राथमिकतामा नपर्दा रामेछापका किसानले बर्षेनी ठूलो समस्या झेल्दै आएका छन् ।

रामेछापमा पानी नपर्दा ठूलाठूला पानी बहने खोला समेत यतिखेर सुकेका छन् । ती खोलामा पानी बग्न छाडेसँगै खोला आसपासका किसानहरु समेत मारमा परेका छन् । त्यस्तै आकाशे पानीको भल तर्काएर धान रोपाई गर्दै आएका केही किसानहरु भने पानी पर्न नसक्दा खेत जोतेर त्यतिकै छाडेर बस्न विवश रहेका छन् ।

गएको वर्ष यतिखेरसम्म रामेछापका अधिकासं खेतमा धान रोपाई सकिएको थियो । तर यसवर्ष मनसुन सक्रिय हुन नसक्दा पानी पर्न सकेको छैन् । जसको असर आम रामेछापका किसानहरुले व्यहोर्नु परेको छ । पानी नपर्दा रामेछापमा जम्मा ४५ प्रतिशत मात्रै खेतमा धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र रामेछापका अधिकृत प्रमोद दाहालले जानकारी दिए ।

पानी नभएकै कारण रामेछापका ५५ प्रतिशत खेतमा रोपाई हुन सकेको छैन् । जिल्लाको उत्पादनको हिसावले ठूला फाँटहरु मध्ये मन्थली नगरपालिकाको सानीमदौ,मन्थली फाँट, मुगिटार, कुनौरी, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती फाँट, खाँडादेवी गाउँपालिकाको माडी फाँट, रामेछाप नगरपालिकाको सुकाजोर, साँघुटार फाँट लगाएतका क्षेत्रमा समेत पानी नहुँदा समयमा किसानहरुले धान रोपाई गर्न सकेनन् ।

खोलामा पानी सुकेर समस्या भएपछि किसानहरुले जेनेरेटरको सहायतामा महङ्गो शुल्क तिरेर पानी तानेर रोपाई गर्दै आएका छन् । मन्थली फाँटमा तामाकोशी नदीको पानी प्रति घण्टा ५ सय रुपैयाँसम्म तिरेर किसानले रोपाई गरेका छन् । त्यस्तै खाँडादेवी गाउँपालिकाको माडिफाँटमा प्रतिघण्टा २ सय रुपैयाँ तिरेर किसानले तामाकोशी नदीकै पानी तानेर रोपाई गर्दै आएको खाँडादेवी गाउँपालिका–४ पकरवासका श्याम कुमार श्रेष्ठले बताए ।

जिल्लाका अधिकासं स्थानमा खेत रोपाई गर्न आकाशे पानीकै भर पर्नुपर्ने वाध्यता रहेको छ । रामेछापमा कुल ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफलमा धान रोपाई हुँदै आएको छ ।

Scroll to Top