रामेछाप । सदरमुकाम मन्थलीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीहरुले कार्यालयमा सेवा लिन गएका सेवाग्राहीहरुलाई हरेक दिन कुनै न कुनै बहाना बनाएर दुःख दिने गरेका छन् ।
व्यवसायी, संचारमाध्यम र व्यक्तिगत काटिएका सरकारी चेक बैंकमा चेक क्लियरिङको लागि समयमा नै पेश गरेता पनि कर्मचारीहरुले चेक क्लियरिङ नगरि राखिदिने र समय सकिएपछि पुनः चेक कटाएर ल्याउनुस भन्दै सेवाग्राहीलाई चेक फिर्ता गराएर दुःख दिने काम गर्दै आएका छन् । बैंक कर्मचारीको कमजोरीले गर्दा हरेक दिन बैंकमा सेवा लिन पुगेका नागरिकहरु हैरानी खेप्न वाध्य छन् ।
गएको असारमा जिल्लाका धेरै संञ्चारमाध्यमका चेक जम्माको लागि बैंकमा पेश गरिएकोमा अधिकासं चेक सटही भएनन् । बैंकका कर्मचारीले चेक क्लियरिङको लागि पेश गरिएकोमा म्याद गुजारेर फिर्ता पठाएपछि ती चेकको भुक्तानी तीन महिना वितिसक्दा पनि पाउन नसकेको झंकार एफएमका स्टेसन म्यानेजर युवराज श्रेष्ठले जानकारी दिए । उनले भने–बैंकका कर्मचारीको मनलाग्दी छ । नागरिकलाई सेवा दिनुको साटो दुःख र झन्झट दिदै आएको बताए ।
त्यस्तै कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीलाई सुरक्षा गार्ड देखी कर्मचारीहरुले समेत हकारपकार गर्ने गरेका छन् । आफ्नो रकम निकाल्न बैंकमा पुगेका जेष्ठ नागरिकहरुलाई घण्टौं उभ्याएर राखेर दुःख दिने गरेका छन् । सेवा लिन पुगेका नागरिकहरुले गुनासो राख्दा बैंकका कर्मचारीहरुले हकार्ने गरेको सेवाग्राहीहरु बताउँछन् ।
बैंकमा सेवा लिन पुगेका नागरिकहरुलाई नत प्रयाप्त मात्रामा बस्ने ठाउँका व्यवस्था छ नत पिउने पानीको प्रवन्ध नै ! बाणिज्य बैंकको सेवा लिन सधैं कर्मचारीलाई बिन्ती बिसाउनु पर्ने अवस्था रहेको लिखु तामाकोशी गाउँपालिका–६ खिम्तीका दुर्गावहादुर खत्रीले जानकारी दिए । उनले भने– बैंकमा काम लिएर पुग्ने हरेक जेष्ठ नागरिकहरुले सास्ती खेप्दै आएको पनि खत्रीले बताए ।
त्यसैगरी चेक बाउन्स र कालो सूचीमा राख्न निवेदन सहित पेश गरिएका चेकहरु बैंकका कर्मचारीहरुले अहिले फुर्सद छैन् भन्दै फर्काउने गरेको सेवाग्राहीहरुको गुनासो रहेको छ । पेश गरिएका चेकहरु कालो सूची भएर आएकी आएनन् भनेर बैंकका कर्मचारीहरुलाइ सोध्न समेत नमिल्ने राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाका अधिकृत सुमन कुमार महतोले जानकारी दिए । उनले भने– हामी कर्मचारी हौं । सेवाग्राहीले बैंकमा सेवा लिन आउँदा कर्मचारीसँग कस्तो बोल्ने भनेर बोल्न सिकेर मात्रै सेवा लिन आउनुपर्छ । कार्यालयमा आफ्नो खुशीले काम गर्ने बताए ।
बैंकको कर्जा शाखाको जिम्वेवारी लिएका महतोले हरेक दिन कार्यालयमा सेवा लिन पुगेका नागरिकहरुलाई कुनै न कुनै बहाना बनाएर दुःख दिने गरेका छन् । उनले बैंकमा लोन लिन गएका सेवाग्राहीहरुसँग लोन स्वीकृत गर्न समेत रकम माग गर्ने गरेको एक व्यवसायीले आफ्नो नाम नछाप्ने सर्तमा बताए ।
बैंकका कर्मचारीबाट नागरिकहरुले पटकपटक दुःख पाएको बिषयमा राष्ट्रिय बाणिज्य वैंकका प्रवन्धकलाई गुनासो सुनाउँदा पनि अहिलेसम्म कार्यान्वयन भएको छैन् । केही महिना अघि मात्रै बाणिज्य बैंक मन्थली शाखाका प्रवन्धक भएर आएका प्रवन्धक मिनबहादुर भुजेलले अब सच्चिएर काम गर्ने जानकारी दिए । उनले भने– कर्मचारीको कारण सेवाग्राहीले दुःख पाएको सत्य हो । भोलीका दिनमा कुनै पनि नागरिकले दुःख नपाउने गरी काम गर्ने बताए ।