रामेछाप । लिखु तामाकोशी गाउँपालिका–४ मा रहेको श्री भृङ्गेश्वर मावि कोटगाँउका शिक्षकहरुले चन्दा संकलन गरेर न्यानो कपडा खरिद गरी विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई बितरण गरेका छन् ।
पोशाक खरिद गर्न नसकेका कारण विपन्न समुदायका बालबालिकाहरुले फरक पोशाक लगाएर विद्यालयमा आउन थालेपछि विद्यालयमा अध्ययनरत सवै बालबालिकाहरुलाई एउटै विद्यालय पोशाक होस् भन्ने उद्धेश्यले उक्त विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई कपडा खरिद गर्न चन्दा संकलन अभियान चलाएका हुन ।
यसअघि गत कार्तिकको तिहारमा पूर्व विद्यार्थी र अभिभावकहरुले देउसीभैलो खेली जम्मा भएको रकम र अपुग रकम विद्यालयका शिक्षक, अभिभावक र वडा अध्यक्षसँग माग गरी जम्मा गरिएको रकमले शिशु कक्षा देखी कक्षा १० सम्मका बालकालिकालाई न्यानो कपडा वितरण गरिएको श्री भृङ्गेश्वर मावि कोटगाँउका प्रधानाध्यापक हरिश्चन्द्र महतले जानकारी दिए ।
विद्यार्थीको पोशाक एकरुपता ल्याउन विद्यालयका प्रधानाध्यापक महतले व्यक्तिगत ५ हजार १ सय १ रुपैयाँ प्रदान गरेका थिए । उनले शुरु गरेको यो अभियानमा अन्य शिक्षकहरु, पूर्व विद्यार्थीहरु, अभिभावकहरु र वडा अध्यक्ष लगाएतवाट संकलित रकमवाट विद्यार्थीहरुलाई कपडा वितरण गर्न सकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुण्डीराज तिमिल्सीनाले जानकारी दिए ।
संकलित रकमवाट विद्यालय पोशाक, ट्रयाकसुट, मोजा, सुइटर, टोपी लगाएतका सामाग्रीहरु वितरण गरिएको हो । विद्यालयमा अध्ययरनरत केही विपन्न बालबालिकाहरु विद्यालय पोशाक नभएकै कारण विद्यालयमा नियमित पठनपाठनमा अनुपस्थित हुने गरेका थिए । अहिले विद्यालयका शिक्षकहरुले रकम उठाएर बालबालिकालाई पोशाक वितरण गरेपछि नियमित नहुने बालबालिकाहरु पनि नियमित रुपमा अध्ययनको लागि विद्यालय आउने गरेको विद्यालय प्रशासनले जनाएको छ ।