पार्बती कार्की-
रामेछाप । रामेछाप नगरपालिका वडा नं–८ भालुखोपमा रहेको कृषि उपज संकलन केन्द्रको भवन व्यवस्थापन समितिको लार्पवाहीले बन्द हुँदा किसानहरु मारमा परेका छन् ।
रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, भालुखोप लगाएतका स्थानका किसानहरुले उत्पादन गरेको तरकारी, फलफूल, गेडागुँडी, जुनार, सुन्तला लगाएतका कृषि उपजहरु संकलन गर्नको लागि चार वर्षअघि निमार्ण गरिएको कृषि उपज संकलन केन्द्रको भवन बेवारिसे अवस्थामा पुगेको हो । कृषि समितिमा रहेका पदाधिकारीहरुले खासै चासो नदिएका कारण समस्या उत्पन्न भएको हो ।
किसानहरुले उत्पादन गरेको कृषि जन्य उत्पादन वजारसम्म पुर्याउन समस्या भएपछि उत्पादित वस्तुहरु एकठाउँमा जम्मा पार्ने र सवारीसाधन मार्फत वजारकेन्द्रसम्म पुर्याउन सहज हुने भन्दै किसानहरुले संकलन केन्द्रको माग गरेका थिए । किसानहरुको मागको आधारमा सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार मार्फत संञ्चालित तत्कालिन गरिवीनिवारण कोष मार्फत ६ लाख ९६ हजार ६ सय २१ रुपैयाँ, स्थानिय जुनार जुस उद्योग संचालनको २४ लाख ५४ हजार रुपैयाँ र स्थानिय जनश्रमदान १ लाख ५० हजार गरि कुल ३३ लाख ६ सय २१ रुपैयाँको लागतमा उक्त भवन निमार्ण भएको थियो ।
भवन निमार्णपछि केही समयसम्म किसानहरुले उत्पादन गरेको कृषि उपज त्यस केन्द्रमा जम्मा गर्ने गर्दथे । सबै किसानहरुले आफ्नो वारीमा उत्पादन गरेको कृषि सामाग्रीहरु त्यस संकलन केन्द्रमा जम्मा गर्ने र त्यहीँवाट यातायातका साधनहरु मार्फत पुरानो सदरमुकाम रामेछाप वजार, मन्थली वजारसम्म विक्रीको लागि लैजाने गर्दथे । अहिले त्यो अवस्था रहेन् । कृषि उपज संकलन केन्द्रको नाममा गठित समितिका पदाधिकारीको वेवास्ताका कारण अहिले किसानहरुले आफुले उत्पादन गरेको कृषि उपज सिधै आफैले वजारसम्म लैजाने गरेका छन् ।
किसानले उत्पादन गरेको वस्तु त्यस भवनमा नल्याई सिधै वजारसम्म लैजाने गर्दा उक्त भवन अहिले वेवारिसे जस्तै वनेको हो । किसानहरुले भवन निमार्ण भएपछि त्यस भवनमा उत्पादीत वस्तु संकलन गर्ने र वजारसम्म लैजाने धोको अधुरै रहेको रामेछाप नगरपालिका वडा नं–७ का किसान लालवहादुर तामाङ्गले बताए । उनले भने– समितिमा वस्ने पदाधिकारीको चरम लापर्वाहीका कारण सामान्य किसानहरुले भवनको सही तरीकाले उपभोग गर्न पाएनन् ।
कृषि उपज संकलन केन्द्रको भवन अहिले ताल्चा लगाएर राखिएको छ । भवनको पछाडीको भागमा बटुवा र गाईवस्तु चराउने गोठालाहरुलाई अहिले शौच गर्ने थलोको रुपमा उक्त भवन प्रयोग हुँदै आएको छ ।