रामेछाप हुलाकका कर्मचारी आन्दोलित

रामेछाप । नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा देशभरका अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेको बिरोधमा जिल्ला हुलाक कार्यालय रामेछापमा कार्यरत कर्मचारीहरु म्ंगलवारबाट हातमा कालो पट्टी बाधेर आन्दोलनमा उत्रिएका छन् ।

हुलाक कार्यालयमा बिगत लामो समयदेखी कार्यरत कर्मचारीहरुले हुलाकलाई झन व्यवस्थीत गर्दै लैजानु पर्नेमा त्यसको वेवास्था गर्दै सरकारले वजेट वक्तव्य मार्फत अतिरिक्त हुलाक नै खारेज गर्ने भनेपछि अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीहरूले आफ्नो माग पुरा नभएसम्म कार्यालयको नियमित काम नगर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

धेरै लामो समयसम्म हुलाक सेवामा काम गरेका कर्मचारीहरुलाई राज्यले केही पनि सेवा सुविधा नै नदिई अकस्मात कर्मचारी हटाउन अतिरिक्त हुलाक कार्यायल नै खारेजी गर्न खोजेको भन्दै कर्मचारीहरुले जिल्ला हुलाक कार्यालयको भवन अगाडी धर्ना दिएका छन् । उनीहरुले अहिलेको वर्तमान गठबन्धन सरकारले अतिरिक्तका कर्मचारीहरूलाई बेवास्ता गर्दै कुनै तयारी नै नगरी अतिरिक्त हुलाक खारेज गरेर कार्यारत कर्मचारीहरुलाई बेरोजगारी सिर्जना गरेको भन्दै विभिन्न मागहरु राखेर चरणबद्ध आन्दोलनमा उत्रने भएका हुन् ।

आन्दोलनरत कर्मचारीहरुले आफ्नो मागलाई सरकारले सम्वोधन नगरे असार १० गते देशभरका जिल्ला हुलाक कार्यालयमा तालाबन्दी गरेर सोही दिन अन्य चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन रामेछापका सचिव अम्बर बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने– हामीले यसवारेमा जेठ ३० गते रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र समेत बुझाईसकेका छौं । हाम्रो माग सम्वोधन हुन्छ भन्ने आशामा हामीहरु बसेका छौं ।

जिल्ला हुलाक कार्यालय रामेछाप अन्तर्गत जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिकामा गरी हाल १ सय २८ जना कर्मचारीहरु कार्यरत रहेका छन् । उनीहरुले काम गर्दै आएको कार्यालय नै खारेजी हुने भएपछि कार्यालयको काम छाडेर अहिले आन्दोलनमा उत्रेका हुन् ।

Scroll to Top