रामेछापमा बर्षेनी आत्महत्याका घटना बढ्दै

रामेछाप । आत्महत्या न्युनिकरण गर्ने सम्वन्धि जनचेतनामुलक कार्यक्रम संञ्चालन नहुँदा रामेछापमा बर्षेनी आत्महत्याका घटनामा बृद्धि हुँदै गएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापको तत्याङ्क अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा ४३ जनाले आत्महत्या गरेकोमा उक्त घटनामा बृद्धि भई आर्थिक वर्ष २०७९÷०८० मा ५१ जनाले आत्महत्या गरेका छन् । जसमा आर्थिक वर्ष २०७८÷०७९ मा २९ जनाले झुण्डिएर र १४ जनाले विष सेवन गरी आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९÷०८० मा ४३ जनाले झुण्डिएर र ८ जनाले बिष सेवन गरी आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुको मुख्य कारणमा आर्थिक अवस्था कमजोर हुनु, घरपरिवारमा दैनिक रुपमा झैझगडा हुनु र एक्लो महसुस हुनु जस्ता धेरै कारणहरु रहेका छन् । पछिल्ला केही वर्षदेखी रामेछापमा आत्महत्याका घटनामा बृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले विभिन्न स्थानिय तहहरुमा पुगेर आत्महत्या न्युनिकरणका कार्यक्रमहरु संञ्चालन गरेता पनि उक्त अभियानले खासै काम गर्न नसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

उनले भने– हामीले सकेको अभियान चलाएका छौं । तर हाम्रो अभियानले मात्रै आत्महत्या न्युनिकरण गर्न सकिएन । वर्षेनी बढ्दै गएको आत्महत्या दरलाई न्युनिकरण गर्न नसकिने हो भने यसले जिल्लामा बिकराल रुप लिने भएकाले समयमा नै आत्महत्याको दर रोक्नलाई स्थानिय, प्रदेश र संघीय सरकारले स्थानिय स्तरसम्म जनचेतनामुलक कार्यक्रम लैजानु पर्ने प्रनाउ पराजुलीले बताए ।

Scroll to Top