एक प्रदेश एक अस्पताल अन्तर्गत रामेछापको साँघुटारमा सेवा आरम्भ

रामेछाप । नेपाल सरकारको एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुदृढिकरण कार्यक्रम अन्तर्गत रामेछाप जिल्लाको प्रदेश (क) को रामेछाप नगरपालिका–३ साँघुटारमा गुणस्तरीय तथा आधारभूत सेवाको आरम्भ मगंलवार एक कार्यक्रमका बिच बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले गरेका छन् ।

सेवा उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री जोशीले हरेक नागरिकहरुले सहज ढंगले स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्धेश्यले बागमती प्रदेश सरकारले एक प्रदेश एक अस्पतालको अवधारणा ल्याएको भन्दै यस्तै किसिमका अन्य कार्यक्रमहरु पनि बागमती प्रदेश सरकारले ल्याउने बताए । उनले सेवा शुरु गरिएको अस्पतालवाट जिल्लाका ग्रामिण भेगका नागरिकहरुले सहज ढंगले स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे ।

कार्यक्रम उद्घाटन समारोहमा बोल्दै रामेछापका प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम)ले जिल्लामा स्वास्थ्य क्षेत्रको लागि आफ्नो पहलमा संघ मार्फत विभिन्न कार्यक्रमहरु ल्याउन पहल भइरहेको बताए । त्यस्तै रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्यौपानेले अस्पताल सुदृढिकरण कार्यक्रम अन्तर्गत साँघुटारको स्वास्थ्य चौकी पर्दा आफु हर्षित भएको भन्दै सबै नागरिकलाई सहज ढंगले स्वास्थ्य सेवा पुर्याउन आफु लागि परेको बताए ।

रामेछाप र छिमेकी जिल्ला ओखलढुङ्गाको लिखु नदी सिमानामा रहेको साँघुटार अस्पतालवाट रामेछापको अलावा ओखलढुङ्गाका नर्वदेश्वर र यसम गाउँपालिकाका नागरिकहरुले समेत गुणस्तरीय स्वास्थ्य सेवा पाउने छन् । गाउँमै सहज ढंगले स्वास्थ्य सेवा पाउने भएपछि आफुहरुलाई अत्यन्तै खुशी लागेको स्थानिय बद्रीदाश भौकाजीले जानकारी दिए । यसअघि गाउँमा सुविधा सम्पन्न अस्पताल नहुँदा साँघुटारका नागरिकहरु जिल्ला अस्पताल रामेछाप वा सदरमुकाम मन्थलीसम्म जानु पर्ने वाध्यता थियो ।

मन्त्री जोशीले आजै जिल्ला अस्पताल रामेछापमा नवर्निमित सभाहल, आइसियु सेवा र माइक्रोवायोलोजी सेवाको पनि शुभारम्भ गरेका छन् । जिल्ला अस्पतालमा आइसियु सेवा संञ्चालनमा आएपछि नागरिकलाई उपचारमा थप सहज भएको चिकित्सकहरुले बताएका छन् ।

Scroll to Top