आगलागीबाट एक घर जलेर नष्ट

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानीको सालघारी सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा मगंलवार राती एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
जंगलमा लागेको आगो अकस्मात बस्तीमा पस्दा सुनारपानी मचबारीका यम बहादुर मगरको घर जलेर पूर्णरुपमा नष्ट भएको हो । त्यसैगरी आगलागीमा परी सोही घरमा बाधिरहेको एउटा गोरु पनि आगोमा परेर जलेको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीका वडा अध्यक्ष रबिन कार्कीले जानकारी दिए ।
उनका अनुसार– तीन दिनदेखी सालघारी सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । गएराती सामुदायिक वनवाट वस्तीमा पसेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानिय सहितको टोलीले नियन्त्रणमा लिए पनि जंगलमा लागेको आगो भने अझै लागिरहेको अध्यक्ष कार्कीले बताए ।
गएराती एकै दिन मन्थली नगरपालिकाको वडा नं १÷३÷५÷८ का विभिन्न सामुदायिक वनमा आगलागी भएको छ । आगलागीवाट करोडौ मूल्य वरावरको काठ जलेर पूर्णरुपमा नष्ट भएको छ भने सामुदायिक वनमा रहेका विभिन्न प्रजातीका चराचुरुङ्गी र जंगली जनावरहरु जलेर नष्ट भएका छन् । पछिल्लो केही दिन यता रामेछापका विभिन्न सामुदायिक वनहरुमा आगलागीका घटनाहरु बढ्दै गएका छन् ।

Scroll to Top