काठमाण्डौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने ठगी धन्दामा संलग्न रहेको अभियोगमा आइतवार काठमाण्डौंको बुढानिलकण्ठबाट पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ ।
काठमाण्डौं जिल्ला अदालतबाट गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी हिजो पक्राउ परेका हुन् । नेकपा एमालेका सचिव समेत रहेका रायमाझीलाई एमालेले सचिवबाट समेत निलम्बन गरिसकेको छ । प्रहरीले पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक, कांग्रेसका पूर्व सांसद आङ्टावा शेर्पा तथा इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । हाल तीनै जना फरार रहेका छन् । प्रहरीले उनीहरुको खोजी कार्यमा जुटेको जनाएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १३ जना पक्राउ परेका छन् । गएको बुधवार पक्राउ परेका खाणले बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको प्रमाण प्रहरीले फेला पारेसँगै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सचिव टेकनारायण पाण्डेले प्रहरीलाई दिएको बयानमा खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको स्विकार गरेका थिए । खाणसँगै पक्राउ परेका उनका स्वकीय सचिव नरेन्द्र केसीले ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको अभियुक्तहरुले प्रहरी समक्ष बयान दिएका छन् ।
सो प्रकरणमा रामशरण केसी, गोविन्द चौधरी, इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप तथा सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरुङ र सागर राई लाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाख रुपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको समेत मुछिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस बिषयमा थप अनुसन्धान कार्य अघि वढाएको जनाएको छ ।