मन्थली नगरका ८ माविका हेडमास्टर फेरिए

रामेछाप । मन्थली नगरपालिका अन्र्तगत रहेका १२ वटा माध्यमिक विद्यालयहरु मध्ये ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडमास्टर) फेरिएका छन् ।

मन्थली नगरपालिकाले माध्यमिक विद्यालयलाई थप व्यवस्थापन गर्न संघीय शिक्षा ऐन अन्तर्गत मन्थली नगर शिक्षक कार्यविधि २०७९ वनाएर विद्यालयको प्रधानाध्यापक बन्न चाहने शिक्षकलाई विकास प्रस्ताव पेश गर्न सूचना जारी गरेको थियो । सोही सूचनाको आधारमा प्रधानाध्यापक बन्नको लागि शिक्षकहरुले पेश गरेको प्रस्तावनाको आधारमा शिक्षकहरुसँग मन्थली नगरपालिकाले परीक्षा लिएको थियो ।

बिगत लामो समयदेखी प्रधानाध्यापकको जिम्मेवारीमा रहेर काम गर्दै आएका शिक्षकहरुले मन्थली नगरपालिकाले लिएको परीक्षामा ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकहरुले ४५ अंङ्क कटाउन सकेनन् । परीक्षामा अनुतिर्ण प्रधानाध्यापकलाई मन्थली नगरपालिकाले जिम्वेवारीवाट हटाएर ४५ अङ्क माथि ल्याउने शिक्षकलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको हो । प्रधानाध्यापकको जिम्वेवारीवाट हटेका शिक्षकहरुले अब अन्य शिक्षक सरह विद्यार्थीलाई पढाउनु पर्ने भएको छ ।

यसरी प्रधानाध्यापकको जिम्मेवारीवाट हट्ने शिक्षकहरुमा नागकन्या माध्यमिक विद्यालय मन्थलीका बुद्धिराज फूयाल, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकका सोमप्रसाद भट्टराई, भैरवी माध्यमिक विद्यालय सुनारपानीका बाशु काफ्ले रहेका छन् । त्यसैगरी कालिका माध्यमिक विद्यालय भलुवाजोरका दिनेश थापा, रुद्राक्षेश्वर माध्यमिक विद्यालय भटौलीका ध्रुव मैनाली, भिमेश्वर रुद्र माध्यमिक विद्यालय चिसापानीका शंकर ढुंगेल र सरस्वती माध्यमिक विद्यालय चनखुका शिब कार्की रहेका छन् । यी शिक्षकहरु मध्ये केही शिक्षकहरु प्राथमिक तह र केहीकाे निमावी तहकाे दरवन्दी भइ हालसम्म माध्यमिककै प्रअ चलाइरहेकाे भएता पनि नगरले प्रअमा लिएकाे परीक्षामा ती शिक्षकहरुले भने सहभागी हुन पाएनन् । परीक्षा दिन नपाएका ती शिक्षकहरुकाे प्रअ पनि खाेसिएकाे छ ।

पुराना प्रधानाध्यापक परीक्षामा असफल भएसँगै परीक्षामा उतिर्ण भएर नयाँ प्रधानाध्यापकको जिम्मेवारी पाउने शिक्षकहरुमा नागकन्या मावि मन्थलीमा सुमित्रा खड्का, सिद्धेश्वर माध्यमिक विद्यालय गैराथोकमा गणेश श्रेष्ठ, भैरवी माध्यमिक विद्यालय सुनारपानीमा दिनेशकुमार कार्की रहेका छन् । त्यस्तै कालिका माध्यमिक विद्यालय भलुवाजोरमा राजेश कर्ण, रुद्राक्षेश्वर माध्यमिक विद्यालय भटौलीमा हर्कबहादुर भुजेल, भिमेश्वर रुद्र माध्यमिक विद्यालय चिसापानीमा देवकुमार श्रेष्ठ, सरस्वती माध्यमिक विद्यालय चनखुमा श्रीप्रसाद घिमिरेले नियुक्ती पत्र बुझेका छन् ।

त्यसैगरी मन्थली नगरपालिकाले लिएको परीक्षामा मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक प्रसाद दाहाल, सेतीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक गगन कुमार श्रेष्ठ, निलकट्ठेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कुशप्रसाद दाहाल र शारदा माध्यमिक विद्यालय गेलुका प्रधानाध्यापक अर्जुन श्रेष्ठ मात्रै परीक्षामा उतिर्ण भएका थिए । परीक्षामा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुने प्रधानाध्यापकहरुलाई सोही स्थानमा निरन्तरता दिएको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले जानकारी दिए ।

उनले भने– हामीले माग गरेजति शिक्षकहरुले विकास प्रस्ताप पेश नगरेका कारण केही विद्यालयहरुमा पुरानै शिक्षकहरु रहेका छन् । ती विद्यालयहरुमा पनि नगर शिक्षा कार्यविधि अनुसार सूचना माग गरेर पूर्णता दिने तयारी रहेको पनि अधिकारी बुढाथोकीले जानकारी दिए ।

मन्थली नगरपालिकाले नगरभित्र रहेका ५३ वटा सामुदायिक विद्यालयहरुको प्रधानाध्यापक नयाँ नियुक्ती गरेर कार्यक्षेत्र खटाएको छ । नयाँ प्रधानाध्यापक नियुक्तिसँगै आगामी वर्ष विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिर्वतन हुने अपेक्षा नगरपालिकाले लिएको छ ।

Scroll to Top