आँखा पाक्ने रोगको प्रकोप बढेपछि रामेछापका ५ विद्यालय बन्द

रामेछाप । एकपछि अर्को गर्दै अधिकासं विद्यार्थी र शिक्षकहरुमा आँखा पाक्ने रोग देखापरेपछि रामेछापको मन्थली नगरपालिकामा रहेका ५ वटा विद्यालयको पठनपाठन बन्द गरिएको छ ।

विद्यालयमा अध्ययनरत अधिकासं विद्यार्थीमा आँखा पाक्ने रोग देखापरेपछि जिल्लाको सबैभन्दा बढी विद्यार्थीसंख्या रहेको मन्थली माध्यमिक विद्यालयले एकहप्ताको लागि पठनपाठन बन्द गराएको हो ।


आइतवार अध्ययनको लागि विद्यालय पुगेका विद्यार्थीहरुलाई अर्को हप्ताको आइतवारवाट मात्रै विद्यालय आउनु भन्दै आजैवाट विदा दिइएको मन्थली माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मन्थली माध्यमिक विद्यालयका ९ जना शिक्षक र ४ सय भन्दा धेरै विद्यार्थीहरुमा आँखा पाक्ने रोक देखा परेको छ । उक्त विद्यालयमा हाल १ हजार ३ सय विद्यार्थीहरु अध्ययनरत छन् ।

त्यस्तै मन्थलीका अन्य चारवटा निजि विद्यालयले भने साउन ३१ गतेसम्म तीनदिनको लागि विद्यालय वन्द गराएका छन् । जसमा तामाकोशी इङलिस वोडिङ स्कुल, कर्कलादेवी वोडिङ स्कुल, लिटिलस्टार इङलिस वोडिङ स्कुल र नर्मदेश्वर इङलिस वोडिङ स्कुलले तीनदिनको लागि विद्यालय बन्द गराएका हुन् । उनीहरुले विद्यालयमा आउने आधा भन्दा बढी विद्यार्थीहरुमा आँखा पाक्ने रोगको संक्रमण देखिएको भन्दै विद्यालय बन्द गराउनु परेको जनाएका छन् ।

पछिल्लो केही दिनयता रामेछापमा आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । अहिले दैनिक रुपमा आँखा पाक्ने रोगको विरामीले जिल्लाका अस्पतालहरु भरिभराउ हुन थालेको छन् । दैनिकजसो सदरमुकाम मन्थलीमा रहेका तामाकोशी अस्पताल, रामेछाप सामुदायिक अस्पताल, मन्थली अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचार लिन आउने विरामीको संख्या निकै वढेको मन्थली अस्पतालका डा.केशब धामीले जानकारी दिए ।

उनका अनुसार अहिले दैनिक सरदर ५० को हाराहारीमा आँखाका विरामीहरु मात्रै अस्पतालमा उपचार लिन आउने गरेका छन् । त्यस्तै अन्य अस्पतालहरुमा पनि दैनिक ५० देखी १ सयको हाराहारीमा आँखाका विरामीहरु उपचार लिन जाने गरेका छन् । सदरमुकाम मन्थली मात्रै हैन पुरानो सदरमुकाम रामेछाप डाँडामा रहेको जिल्ला अस्पतालमा पनि आँखाका विरामीहरु त्यतिकै मात्रामा उपचार लिन जाने गरेका छन् ।

रामेछापमा आँखा पाक्ने रोगकै कारण रामेछापका अधिकासं अस्पतालहरुमा उपचार लिन जाने विरामीहरुको भिडभाड बढेको छ । आँखा पाक्ने रोगका विरामी बढेसँगै चश्मा पसलहरुमा चश्मा किन्नेहरुको समेत भिडभाड बढेको हो । आँखा पाक्ने रोगको संक्रमण कम्तीमा एकहप्ता सम्म रहने चिकित्सकहरुले बताएका छन् ।

Scroll to Top