रामेछाप प्रहरीको उत्कृष्ट काम–बिरामी बृद्धको बचायो ज्यान

रामेछाप । दुई छोरा र एक छोरीका बाबु उपचार नपाएर घरमै लामो समयदेखी एकै थला परेका उमाकुण्ड गाउँपालिका–६ भितरीखानीका ६७ बर्षीय बिरवहादर श्रेष्ठको प्रहरीले उद्धार गरी ज्यान बचाएको छ ।

नेपालीमा एउटा उखान नै छ “बाह्र छोरा तेह्र नाती बुढाको धोक्रो काँधैमाथि” यो उखान श्रेष्ठको जीवनसँग ठ्याक्कै मेल खाएको छ । केही वर्ष अघि देखी प्यारालाइसिस र दम रोगवाट थला परेका श्रेष्ठलाई उनका छोरा र छोरीले उपचार गराउने कुनै चासो देखाएनन् । उनको हेरचाहमा ५३ वर्षिय श्रीमती गंगामाया श्रेष्ठले गर्दै आएकी थिइन ।

घरमा दुई श्रीमानश्रीमती मात्रै रहेको र छोराछोरी भने लामो समयदेखी राजधानी बस्दै आएका छन् । घरमा भएका बुबा बिरामी भएर थला परेको लामो समय हुँदा पनि उनका छोराछोरीले उपचार गराउन अस्पतालसम्म लैजान भ्याएनन् । छोराछोरी शहरकै रमाइलोमा हराए । बृद्ध बाबु विरवहादुर घरमा ऐया र आत्थु गर्दै दिनरात कटाई नै रहे । उनीसँगै रहेकी श्रीमती गंगामायाले श्रीमान्लाई उपचार गराउन त मन थियो, तर एक्लै र आफु पनि कमजोर भएकाले उपचार गराउन लैजान सकिनन् ।

श्रीमती गंगामायाले आफ्ना छोराछोरीलाई बुबा विरामी भएर थला परेको र उपचार गराउन लैजानु परो भनेर पटक–पटक टेलिफोन गरेर भनिन् । तर छोराछोरीले आफ्नै कथा व्यथा आमालाई सुनाए । उनीहरु आमाले भनेको समेत टेरेनन् । छोराछोरीले बाबुको बिषयमा कुनै चासो नदिएपछि गंगामायाले छिमेकी गुहारीन । तर छिमेकीले पनि विरवाहादुर अवस्था जटिल भएकाले उपचार गराउन लैजान नसक्ने भन्दै पन्छिए ।

एकातिर पहाडी भूभागको विकट गाउँ भित्तरीखानी नत सडक नत नजिकै यातायातका साधन नै चल्ने गरेका छन् । जसको कारण विरामी विरवहादुरले अस्पतालको मुख नै देख्न पाएका थिएनन् । उनले आफ्ना सन्तान भए पनि नभएको जस्तै भयो भन्दै श्रीमती गंगामाया सँग गुनासो गर्थे । उनी छिनछिनमा टाउँकोमा हात राखेर धरधरी रुदै दिन कटाउँदै आएका थिए । उनले पटक–पटक श्रीमतीलाई भन्थे मैले अस्पताल र छोराछोरीको अनुहार नै नहेरी मर्ने भए भन्दै भक्कानीदै बस्थे ।

गाउँमा विरवहादुर लामो समयदेखी विरामी परेर थला परेको र छोराछोरीले कसैले पनि उपचार गराउने चासो नदेखाएको भन्दै गाउँमा गाईगुई कुरा चल्न थाल्यो । उक्त कुरा गाउँका कसैले उमाकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरुलाई सुनाए । पछि जनप्रतिनिधिहरुले सो घटनाका बिषयमा इलाका प्रहरी कार्यालय प्रितीसम्म पुर्याए । उक्त घटनाको बिषयमा प्रहरीले जिल्ला प्रहरी कार्यालयमा खवर गर्यो । जिल्ला प्रहरीवाट तत्काल उद्धार गर्नु भन्ने आदेश दिए लगत्तै प्रहरी नायव निरीक्षक प्रकाश पौडेलको नेतृत्वमा एक टोली प्रहरी डेढ घण्टा पैदल हिडेर विरवहादुरको घरमा पुग्यो ।

प्रहरीले विरामी भएर थला परेका बृद्ध विरवहादुरको अवस्था हेरे । गंगामायालाई उहाँको उपचार गराउन लैजान्छौं है आमा भन्दै ओछ्यानवाट उठाए र एक प्रहरी जवानले पिठ्युमा बोकेर घरवाट निस्के र उकालो बाटो लागे । गंगामाया आँखाबाट आशु झार्दै आफ्नो श्रीमान्लाई प्रहरीले बोकेर लगेको दृश्य हेरिरहिन् ।

गोरेटो बाटो र बर्षातका कारण ठाउँठाउँमा चिप्लो भएकाले प्रहरीहरुले आलोपालो गर्दै विरवहादुरलाई डेढ घण्टाको पैदल पछि मुख्य सडकमा निकाले । त्यहाँ गाउँपालिकाको सहयोगमा एम्वुलेन्स झिकाईसकेको थियो । सो एम्वुलेन्स मार्फत उनलाई उपचारको लागि काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक होमवहादुर पराजुलीले जानकारी दिए । उनले भने–बिरामी विरवहादुरको हाल काठमाण्डौंको सिभिल अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले गरेको उदाहरणीय कामले अहिले जिल्लामा सवत्र चर्चा चुलिएको छ ।

घटना पढ्दा एउटा उपन्यास पढे झैं लाग्छ । तर अहिले रामेछापका प्रत्येक गाउँमा विरवहादुरको जस्तै व्यथा बोक्ने बृद्धबृद्धाहरु धेरै हुन सक्छन् । आफ्ना भएका सन्तान रोजगारीको लागि देश परदेश निस्किएका छन् । घरमा भएका बृद्ध बाबुआमालाई हेर्ने र पालनपोषण गर्ने कोही नहुँदा अवस्था विकराल बन्दै गएको छ ।

Scroll to Top