उमाकुण्डमा घुम्ती शिविर,सेवाग्राही उत्साहित

रामेछाप । ग्रामिण भेगका नागरिकहरुलाई गाउँगाउँमा नै सरकारी सेवा पुर्याउने उद्धेश्यले उमाकुण्ड गाउँपालिकाले घुम्ती शिविर संचालन गरेको छ ।

गाउँ पालिकाबाट प्रवाह हुने सेवा र इलाका प्रशासन कार्यालय प्रितीवाट प्रदान हुने सेवा लिएर पालिका गाउँतहसम्म पुगेको हो । नयाँ व्यवसाय दर्ता, व्यवसाय इजाजत पत्र जारी, व्यवसाय प्रमाणपत्र नवीकरण, सामान्य स्वास्थ्य परीक्षण, योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण र जिल्ला प्रशासन कार्यालयबाट जारी हुने नागरिकता वितरण र राष्ट्रिय परिचय परिचय पत्रको विवरण संकलन सहितको एकीकृत घुम्ती शिविर उमाकुण्ड–७ भुजीबाट शुरुवात गरिएको हो ।

गाउँमै केही वर्षअघि देखी व्यापारव्यवसाय संचालन गर्दै आएको भएता पनि व्यवसाय दर्ता गर्न गाउँपालिकासम्म पुग्न जान नसक्दा दर्ता विना नै व्यापार संचालन गर्दै आएका भुजीका मानवहादुर सुनुवारले गाउँमै पुगेको घुम्ती शिविरमा व्यवसाय दर्ता गरे । उनले भने व्यवसाय दर्ता गरेर संचालन गर्नुपर्छ भन्ने थाहा भएर पनि अस्वस्थताका कारण पालिकासम्म जान सकेको थिइन । अहिले गाउँमै घुम्ती शिविर आएपछि सहज भएको बताए ।

पालिकाले शुरु गरेको घुम्ती शिविरमा सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रहेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले जानकारी दिइन । उनले भनिन्– कतिपय नागरिकहरु पालिका केन्द्रसम्म सेवा लिन जान सक्नुभएको थिएन । अहिले पालिकाले प्रदान गर्ने सेवा गाउँतहमै आएपछि सेवाग्राहीहरुमा उल्लास छाएको छ । जसले गर्दा घुम्ती शिविरमा बाक्लो मात्रामा सेवाग्राहीहरुको उपस्थिती रहेको छ ।

Scroll to Top