रामेछाप । जिल्लाको उत्तरी क्षेत्रमा रहेका दुईवटा गाउँपालिकाका सामुदायिक वनहरुको कामले फिल्डमा नै खटिएका कारण कार्यालयमा उपस्थित हुन नसकेको तामे सव–डिभिजन कार्यालय ठोसेका सहायक वन अधिकृत दीपक प्रसाद रिमालले बताए ।
उनले मेरो चरित्र हत्या गर्ने उद्धेश्यले केही व्यक्तिले लगाएको आरोप सरासर झुटो बताएका छन् । अधिकृत रिमालले भने गएको साउन ६ गतेदेखी कार्यालयमा बस्दै नबसी भदौसम्मको हाजिर गरेको भन्ने कुरो गलत हो । म भदौ महिनासम्म गोकुलगंगा गाउँपालिका र उमाकुण्डका विभिन्न सामुदायिक वनको कामले फिल्डमा नै थिए । फिल्डमा बस्दा टेलिफोन नेटर्वक नटिप्ने एकातिरको समस्या थियो भने अर्कोतीर अविरल रुपमा परेको पानीले मैले बोकेको मोवाइलमा पानी पसेर विग्रीएका कारण घरपरिवार र कार्यालयसँग सम्र्पक हुन सकेन । म त्यसपछि विरामी परे । केही समय उपचार गरेर वेड रेष्टमा बसेर पुनः कार्यालय फर्किएर काममा जुटेको पनि अधिकृत रिमालले बताए ।
उनले भने– मेरा कर्मचारीले कार्यालय प्रमुख हिडेको धेरै दिन भयो भनेको पनि केही हदसम्म साँचो हो । म फिल्डमा भएकाले नियमित कार्यालयमा उपस्थित हुन सकिन । कार्यालयमा भएका अन्य कर्मचारीहरु पनि फिल्डको कामले बाहिर हिडेपछि केहीदिन कार्यालय बन्द भएको र पछि सबै कर्मचारीहरु फिल्डवाट फर्किएपछि अहिले नियमित कार्यालय संञ्चालनमा आएको अधिकृत रिमालले जानकारी दिए ।
स्थानिय केही व्यक्तिले कार्यालयमा महिला कर्मचारी भर्ना गरेर घुमफिर गर्न जाने, कार्यालयमा आउने सेवा ग्राहीसँग रकम माग गरेर दुःख दिने लगाएतकोे आरोप सरासर झुटो भएको गोकुलगंगा गाउँपालिका–२ जलकाली सामुदायिक वनका पूर्व अध्यक्ष एवं गोकुलगंगा गाउँपालिका सामुदायिक वन उपभोक्ता महासंघका सदस्य शंकर कार्कीले जानकारी दिए ।
उनले भने– हामी यहीँका स्थानिय नागरिक हौं । सव–डिभिजन कार्यालय र हाम्रो घर नजिकै छ । कार्यालयमा सेवा लिन आउने नागरिक र कार्यालय प्रमुखसँग छिनछिनमै भेट हुन्छ । हामीले कार्यालयका प्रमुखले दुःख दिएको भन्ने कहीँ कतैवाट सुनेका छैनौं । अर्कोकुरा जलकाली सामुदायिक वनमा विगत तीन वर्षदेखी वृक्षारोपणको नाममा एक रुपैयाँ पनि रकम आएको छैन् । अधिकृत रिमाललाई लगाएको यी सवै आरोप मिथ्या हुन्।
त्यस्तै अधिकृत रिमालले गएको आर्थिक वर्षमा गोकुलगंगा गाउँपालिका–२ ठोसे वजार सरसफाईको नाममा आएको वजेट अनियमितता गरेको भन्ने बिषय गलत भएको गोकुलगंगा गाउँपालिका–२ ठोसेका वडा अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए । उनले भने– ठोसे वजार सरसफाईको लागि आएको वजेट वडा कार्यालयसँग समन्वय गरेर काम गरेको हो । त्यसमा एक रुपैयाँ पनि वजेट अनियमितता भएको छैन ।
त्यसैगरी अधिकृत रिमालले आफुले विभिन्न ठेकदारसँग मिलेमतोमा बहुमुल्य पर्ने वनपैदावर समेत निकासा गरेर लाखौं रुपैयाँ असुलउपर गर्ने गरेको भनेर स्थानियले लगाएको आरोप गलत भएको बताएका छन् । उनले आफुले नर्सरी स्थापना गर्दा नियम अनुसार नै काम गरेकाले अनियमितता गरेको छैन । सो सम्वन्धमा स्थानिय चित्र वहादुर राउतसँग बुझ्दा समेत उनले नर्सरी स्थापनामा रकम अनियमितता नभएको बताए ।
यस बिषयमा डिभिजन वन कार्यालय रामेछापका प्रमुख ओमसागर भण्डारी सँग बुझ्दा कर्मचारी कार्यालयमा नभएपछि के–कती कारणले कार्यालयमा अनुपस्थित भएको हो भन्ने बिषयमा स्पष्टीकरण माग गरेकोमा अधिकृत रिमालले डिभिजन वन कार्यालयमा स्पस्टीकरण पेश गरेको बताए ।