
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले विना कारण सदरमुकाम मन्थली वजारलाई फागुन १४ गतेदेखी २ महिनासम्मको लागि निषेधाज्ञा जारी गरेपछि नेपाल विद्यार्थी संघ रामेछापले उक्त निर्णय २४ घण्टाभित्र फिर्ता नलिए आन्दोलनका कार्यक्रमहरु गर्ने जनाएको छ ।

प्रशासनले निषेधाज्ञा लगाएको विरोधमा नेपाल विद्यार्थी संघ रामेछापका अध्यक्ष विनोद बुढाथोकीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुुगेको टोलीले रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलालाई आज ज्ञापन पत्र बुुझाएको हो । उक्त ज्ञापन पत्रमा प्रशासनले लगाएको निषेधाज्ञा २४ घण्टा भित्र निर्णय फिर्ता नलिए निषेधाज्ञाको आदेश तोड्दै थप आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रशासन कार्यालयले शान्तिपूर्ण रहेको मन्थली बजार क्षेत्रमा निषेधाज्ञा गर्नु पर्ने कुनै कारण नै नभई हचुवाका भरमा निषेधाज्ञा जारी गरेको नेविसंघका अध्यक्ष विनोद बुढाथोकी द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । शान्तिपूर्ण स्थान र अवस्थामा पनि प्रजिअले निषेधाज्ञा लागू गरेर आफ्नो अधिकारको अनावश्यक प्रयोग गरेको साथै सिङ्गो गृह प्रशासनकै व्यईजत गरी प्रशासन नै निम्सरो देखिएको विज्ञप्तीमा उल्लेख छ ।

अनावश्यक रुपमा प्रशासनले निषेधाज्ञा लगाएर संविधानले दिएको नेपाली नागरिकहरूको खुल्ला रूपमा हिँडडुल गर्न र भेला हुन पाउने अधिकारको समेत पूर्ण रूपमा हनन भएको भन्दै उक्त निर्णय प्रशासनले २४ घण्टाभित्र फिर्ता नलिए कडा आन्दोलनको कार्यक्रम गर्ने नेविसंघले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले भने जिल्ला सुरक्षा समितको बैठकको सिफारिसको आधारमा माघ १४ गतेदेखि २ महिना सम्मका लागू हुने गरी मन्थली बजार स्थित राष्ट्रिय वाणिज्य बैङ्क देखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषि विकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा ५ जना भन्दा बडीमा भेला, धर्ना, घेराउ, अनसन र विरोध प्रदर्शन गर्न नर्पाइने गरी निषेध गरिएको बताएकी छिन् ।