रामेछाप । खाँडादेवी गाउँपालिका–४ पकरवास स्थित कल्चौडेमा अटो दुर्घटना हुँदा उक्त अटोमा सवार तीन जना घाइते भएका छन् । घाइते मध्ये दुईको अवस्था गम्भिर रहेको छ ।
आज साँझ खाँडादेवी गाउँपालिका–४ पकरवास बाट यात्रु लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको प्र.२–०४–००१ ह.००६९ नम्वरको अटो सोही स्थानको कल्चौडे भन्ने स्थानमा अनियन्त्रित भई सडकको नालीमा पल्टिदा उक्त अटोमा सवार तीनजना घाइते भएका हुन् ।
घाइते हुनेमा मन्थली नगरपालिका–८ चिसापानी बस्ने ३० वर्षीय जयराम माझी, खाँडादेवी गाउँपालिका–४ रजगाँउ बस्ने २४ वर्षीय बाबुराम माझी र सोही ठाउँका ७० वर्षीय लक्ष्मण माझी रहेका छन् । दुर्घटनाको बिषयमा प्रहरीले थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शैलेन्द्र खड्काले जानकारी दिए ।
घाइतेहरुको घटनास्थलवाट उद्धार गरी सदरमुकाम मन्थलीमा रहेको मन्थली अस्पतालमा उपचार पछि गम्भिर घाइते जयराम माझी र लक्ष्मण माझीलाई थप उपचारको लागि काठमाण्डौं स्थित ट्रमा सेन्टरमा रिफर गरिएको मन्थली अस्पतालका डा.केशव धामीले जानकारी दिए । दुर्घटनामा घाइते भएका बाबुराम माझीको भने मन्थली अस्पतालमा नै उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।