घरमुलीलाई कुटपिट गरी चोरी

रामेछाप । गएराती मध्य १२ः३० वजेको समयमा दोरम्बा शैलुङ गाउँपालिका–४ पासेवनमा घरमुलीलाई कुटपिट गरी एक घर चोरी भएको छ ।

राती घरमा सुतिरहेको बेला स्थानिय हर्कवहादुर नगरकोटीको घरमा पुगेका तीनजना चोरले हर्कवहादुरको घरको मुल ढोका फोडेर घरभित्र पसी घरमुली हर्कवहादुर र उनकी श्रीमती लक्ष्मीलाई कुटपिट गरी उनको घरमा भएको १५ हजार नगद र २ तोला सुन लुटपाट गरी चोरीमा संलग्न युवाहरु फरार भएका थिए । कुटपिटवाट नगरकोटीका दम्पती सामान्य घाइते भएका छन् ।

चोरको समुहले कुटपिट पछि घाइते बनेका नगरकोटीले गाउँमा हारगुहार मागेका थिए । उनको हारगुहार पछि चोरहरु भाग्न सफल भएका थिए । पछि गाउँमा जम्मा भएका गाउँलेहरुले चोरको समुह खोजतलास गर्दा नभेटेपछि गएराती नै स्थानियहरुले इलाका प्रहरी कार्यालय टोकरपुरमा घटनाको बिषयमा जानकारी गराएका थिए ।

स्थानियले दिएको उजुरीको आधारमा गएराती देखिनै प्रहरीले चोरीमा संलग्नको खोजी कार्यमा जुटेको थियो । प्रहरीले चोरीमा संलग्न तीनजनालाई आज छिमेकी जिल्ला दोलखाको मैनापोखरीवाट पक्राउ गरी उनीहरुलाई जिल्लामा ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिए ।

पछिल्लो समय रामेछापका विभिन्न स्थानमा चोरीका घटना दैनिक जसो हुँदै गएका छन् । केही समयअघि मात्रै रामेछाप नगरपालिका–३ साँघुटारमा एकै राती ९ घर चोरी भएको थियो ।

Scroll to Top