रामेछाप एमाले अध्यक्षमा–पुरुषोत्तम,सचिवमा प्रकाश

रामेछाप । नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनले पार्टीको जिल्ला अध्यक्षमा पुरुषोत्तम कडरीया निर्विरोध निर्वाचित गरेको छ ।

बिहिवार सदरमुकाम मन्थलीमा भएको पार्टीको नवौं जिल्ला अधिवेशनले यसअघि पार्टीको सचिवमा रहेर काम गरेका कडरीयालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिएको हो । त्यस्तै पार्टी सचिवमा प्रकाश कुमार कार्की निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष पदमा पार्टी भित्र चारजना आंकाक्षी भएता पनि मनोनयन दर्ता भने पुरुषोत्तम कडरीया र प्रेमबहादुर तामाङले मात्रै दरखास्त पेश गरेका थिए ।

पछि पार्टीका शिर्ष नेताहरुको सहमतीमा अध्यक्ष पदका दावेदार तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै कडरीया निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै सचिव पदमा प्रकाश कार्की सँगै युवा नेता रामबाबु घिमिरेले पनि दावी गर्दै उम्मेदवारी दर्ता गरेका थिए । सहमती पछि घिमिरेले पनि दरखास्त फिर्ता लिएसँगै सचिव पदमा कार्की निर्विरोध निर्वाचित भएका छन् ।

त्यसैगरी पार्टीेको लेखा कमिटीको अध्यक्ष पदमा रामप्रसाद देवकोटा सर्वसम्मत निर्वाचित भएका छन् । लेखा कमिटीको उपाध्यक्षमा तेजवहादुर बोहोरा र सचिवमा तिलक कार्की निर्विरोध निर्वाचित भएता पनि उपाध्यक्ष र उप–सचिव पदमा भने मतदान प्रक्रियावाट छनौट गरीने भएको छ । समितिको अन्य सदस्य पदहरुमा भने सर्वसम्मत निर्वाचित गरिएको छ ।

उपाध्यक्ष पदका लागि होतराज ढकाल, ध्रुवकुमार कार्की, रमेशकुमार वाग्ले र ज्ञानबहादुर खड्काले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै उप–सचिव पदमा मिलनकुमार घिसिङ, दिनेश सुवेदी र राजेन्द्रकुमार कार्कीले उम्मेदवारी दर्ता गरेका छन् । महिला उप–सचिवमा मखमली श्रेष्ठ, मञ्जु माया कार्की, कमला शर्मा (क्षेत्री)को मनोनयन पेश गरेको नेकपा एमाले जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा एमाले रामेछापको नवौँ जिल्ला अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उपसचिव दुई जना मध्ये एक जना महिला अनिवार्य हुने गरी पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ल कमिटी निर्वाचित गर्ने छ । जसमा खुलातर्फ तीन जना महिला, दुई जना युवा सहित १० जना, विशेष समावेशीतर्फ तीन जना महिला, दुई जना युवा र ४ जना खुला गरी ९ जना निर्वाचित हुने छन् ।

यसबाहेक दलित तर्फ एक जना महिला, एक युवा, एक खुला गरी ३ जना, जनजातितर्फ एक महिला, एक युवा, एक खुला गरी तीन जना, अपाङ्ग एक जना, अल्पसङ्ख्यक एक महिला र एक खुला गरी दुई जना निर्वाचित हुनेछन् भने भूगोलतर्फबाट ६६ जना जिल्ला कमिटी सदस्यमा निर्वाचित हुने छन् । सहमती हुन नसकेका सवै पदहरुमा शुक्रवार बिहानवाट मतदान हुने नेकपा एमाले रामेछापले जनाएको छ ।

Scroll to Top