रामेछाप । रामेछाप नगरपालिका–६ ओख्रेनीको च्यास्कु बजारमा बलेरो गाडीको ठक्करबाट शनिवार दिउँसो एक बालिकाको घटनास्थलमा नै ज्यान गएको छ ।

च्यास्कु बजारको एक पसलमा सामान खरिद गर्दै गरेकी बालिकालाई बाग्मती प्रदेश ०३१ च ५०७५ नम्बरको बलेरो गाडी सोही पसलको सटरमै छिरेर ठक्कर दिएको थियो । गाडीको ठक्करवाट सोही वडाकी स्थानिय कोपिला तामाङ (श्रेष्ठ) की ४ वर्षकी छोरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
बजार छेउमा रोकी राखेको उक्त गाडी चालक नभएको मौका छोपी स्थानिय अटो चालक तिर्थ बहादुर तामाङले चलाउँदै गर्दा गाडी अनियन्त्रित भई पसल भित्र छिरेको थियो । पसलमा सामान खरिद गरिरहेका वालिका सँगै अन्य केही ग्राहक समेत घाइते भएका छन् । घाइतेहरुको घटनास्थलवाट उद्धार गरी उपचारको लागि रामेछाप अस्पतालमा पठाइएको छ ।


प्रहरी चौकी रामेछापडाँडावाट घटनास्थल पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आफन्तको मन्जुरी विना एम्वुलेन्समा राखेको भन्दै आक्रोसित भएका मृतक बालिकाका आफन्तहरुले प्रहरी माथि हातपात गर्ने प्रयास गरेका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा मृतकका आफन्तहरु जम्मा भएका र घटनास्थलमा अहिले तनावपूर्ण रहेको रामेछाप नगरपालिका–६ ओख्रेनीका वडा सदस्य खड्ग वहादुर मगरले जानकारी दिए ।




