
रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले नै सार्वजनिक विदाका दिन सरकारी गाडीको चरम दुरुपयोग गर्दै सुनकोशी नदीमा जलविहार गर्न पुगेकी छिन् ।

उनले गणतन्त्र दिवसको दिन जिल्ला प्रशासन कार्यालय, कोषतथा लेखा नियन्त्रक कार्यालय र मन्थली नगरपालिकाको गाडीको दुरुपयोग गर्दै सुनकोशी नदीमा जलबिहार गर्न पुगेकी हुन् । प्रजिअ सँगै सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकिय अधिकृत लगाएत जिल्ला प्रशासन कार्यालयका २ जना कर्मचारी वाहेक सवैजना लिएर सुनकोशी नदीमा गएकी हुन् । आफ्नो नाम नछाप्ने शर्तमा एक कर्मचारीले भने प्रजिअ लगाएत सवै कर्मचारीहरु सुनकोशी नदीमा जलविहार गर्न गएको साँचो हो ।

सोमवार नेपाल सरकारले गणतन्त्रको अवसर पारेर सार्वजनिक विदा दिएको थियो । सार्वजनिक विदा परेपनि जिल्ला प्रशासन कार्यालय खुल्ला गरेर नागरिकलाई सेवा प्रदान गर्नुपर्ने हो । केही दिन अघि गृह मन्त्रालयले सवै जिल्लामा परिपत्र गरी सार्वजनिक विदाका दिनमा पनि कार्यालय खुल्ला राखेर नागरिकलाई सेवा प्रदान गर्न निर्देशन दिएको थियो । तर रामेछापकी प्रमुख जिल्ला अधिकारी निरौला भने गृहको परिपत्र लत्याउँदै कार्यालयका कर्मचारी सहित सुनकोशी नदीमा जलविहार गर्न निस्किएकी हुन् ।
केही महिना अघि रामेछापमा हाजिर भएपछि पत्रकारहरुसँगको भेटमा कुनै पनि काम वा कार्यक्रममा एक मिनेट पनि समय खेर नफाल्ने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको सेवागर्ने प्रण गरेकी प्रजिअ निरौलाले आफैले प्रकाशन गरेको सूचनालाई समेत लत्त्याएर नागरिकलाई सेवा बाटै वञ्चित गराएकी छिन् ।
उनले आइतबार गणतन्त्र दिवस सबैले घरघरमा मनाउनु भन्ने सूचना प्रकाशन गरी आज बिहान जिल्ला प्रशासन कार्यालयमा दुई जना कर्मचारीको रोहवरमा कार्यालय छाडेर उनी अन्य कर्मचारीको नेतृत्व गर्दै जिल्ला बाहिर गएकी हुन् । सार्वजनिक बिदाको दिनपनि सेवाप्रवाह गर्ने भन्दै सूचना निकाल्ने प्रजिअ निरौलाले सर्वसाधारण नागरिकलाई हैरानी दिएकी छिन् ।
जिल्ला प्रशासन कार्यालय रामेछापले केही दिनअघि प्रकाशन गरेको सूचनामा सार्वजनिक विदाहरु चण्डी पूर्णिमा, रक्षाबन्धन, श्रीकृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, उँधौली पर्व, योमरी पुन्हि, तमु ल्होसार, माघी पर्व, सनमल्होसार, महाशिवरात्रि, ग्याल्बो ल्होसार, इद (इद उलफित्र), बकर इद (इद उलअजाह), गणतन्त्र दिवस, जनयुद्ध दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिन पनि कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र, राहदानी सम्बन्धी सेवा र राष्ट्रिय परिचयपत्रको सेवाप्रवाह गर्ने उल्लेख छ । तर गणतन्त्र दिवसको दिन राष्ट्रिय परिचयपत्र वाहेकका सवै सेवा ठप्प भएका छन् ।
प्रशासन कार्यालयमा नागरिकता सम्बन्धी काम लिएर गएका मन्थली नगरपालिका–५ स्ुनारपानीका पूर्व वडा अध्यक्ष रामबहादुर कार्की काम विना नै घर फर्किएका छन् । प्रशासन कार्यालयको निकालेको सूचना हेरेर सेवा लिन पुगेका कार्की प्रशासन कार्यालयमा कर्मचारी नभएपछि काम विनै फर्किन वाध्य हुनु परेको बताए । उनले भने– सरकारको मुख्य तालुके कार्यालयको अवस्था यस्तो छ भने अन्य कार्यालयको के होला ? प्रतिप्रश्न गरे । कि सूचना नै निकाल्नु हँुदैन सूचना निकाले पछि जनताको काम गर्नुपर्छ । प्रशासनले जनतालाई दुःख दिने काम मात्रै गरेको कार्कीले बताए ।
सरकारी विदाका दिन पनि नागरिकलाई सेवा दिन्छु भन्दै सूचना निकाल्ने अनि कार्यालयमा नबसी नागरिकलाई दुःख दिनु गलत भएको बागमती प्रदेश सभा सदस्य तारानारायण श्रेष्ठले जानकारी दिए । उनले भने– सेवा दिन नसक्नले किन सेवा दिन्छु भन्दै सर्वसाधारण नागरिकलाई आशा देखाउनु गलत हो । अर्कोतिर देशभरी नै गणतन्त्र दिवस भव्य रूपमा मनाउन सर्कुलर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारी त्यसको अवज्ञा गरेर हिँड्नु, गणतन्त्र दिवसको सर्कुलर नै नमानेर नमनाउनु गम्भीर राजनीतिक प्रश्न हो, श्रेष्ठले बताए ।
गणतन्त्र दिवसको दिन रामेछापमा कुनै पनि औपचारिक कार्यक्रम भएनन् । त्यसको नेतृत्व न त जिल्लाको जननिर्वाचित प्रमुख निकाय जिल्ला समन्वय समितिले ग¥यो न प्रमुख प्रशासनिक निकाय जिल्ला प्रशासन कार्यालयले पनि कुनै कार्यक्रम गरेनन् ।
सार्वजनिक विदाको दिन सरकारी गाडीको दुरुपयोग र कार्यालयमा सेवा ठप्प पारेर सुनकोशी नदीमा जलविहार गर्न गएको बिषयमा जानकारी लिन खोज्दा प्रमुख जिल्ला अधिकारी निरौलाले अहिले सवै बिषयमा बोल्न नमिल्ने बताइन । उनले भनिन्– अहिले बोल्न मिल्दैन, बेलुका कुरा गरौंला भन्दै टेलिफोन काटिन् ।
त्यसैगरी सोही घटनाको बिषयमा पटकपटक सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेसँग टेलिफोन गर्दा उनले मोबाइल नै उठाएनन । त्यस्तै नायव सुब्बा लक्ष्मण भुजेलसँग सम्र्पक गर्दा उनले र अन्य केही कर्मचारीहरुले मोवाइल स्विच अफ गरेर राखेका थिए ।