रामेछाप । पशुमा लागेको रोगको उपचार नगरेको भन्दै सोही झोकमा लिखु तामाकोशीका युवाले लिखु तामाकोशी गाउँपालिकाका पशु प्राविधिक शोभानन्द कुमार महतोलाई बुधबार कार्यालयमा नै कुटपिट गरेका छन् ।
पशुमा देखिएको लम्पी स्किन रोगले पशु भटाभट मर्न थालेपछि पशुलाई उपचार गरिदिनु भन्दै किसानहरु लिखु तामाकोशी गाउँपालिकाको पशु स्वास्थ्य शाखामा जाँदा कर्मचारी नभेटेको र पशु प्राविधिकलाई घरमा बिरामी भएका पशुको बिषयमा जानकारी गराउँदा घरमा पशु हेर्न आएका कर्मचारीले किसानसँग रकम मागेको आरोप लगाउँदै पालिकामा नै पुगेर केही युवाले पशु प्राविधिकलाई कुटपिट गरेका हुन् ।
पशुमा देखिएको लम्की स्किन रोगको लागि केदी हप्ता अघि पालिकाले खरिद गरेको भ्याक्सिन पशु चौपायामा लगाइएको र हाल पालिकामा उक्त भ्याक्सिन खरिद प्रक्रियामा नै रहेको थियो । किसानले पशुमा रोग देखा पर्यो भन्दै केहीले टेलिफोन मार्फत जानकारी गराएका थिए । केही किसानहरु पालिकामा नै भ्याक्सिन र प्राविधिक कर्मचारी लिन आएका थिए । पालिमाका भएको औषधी सकिएको र खरिद गर्ने प्रक्रियामा रहेको भन्दै जानकारी गराएपछि केही किसानले औषधी जतावाट किनेर ल्याएर पनि पशु बचाइदिनु परो, लागेको पैसा दिन्छु भनेपछि आफुहरुले वजारवाट भ्याक्सिन किनेर लगाइदिएको र भ्याक्सिन खरिद गरे वापतको रकम लिएको लिखु तामाकोशी गाउँपालिकाका पशु प्राविधिक शोभानन्द कुमार महतोले जानकारी दिए ।
उनले भने– पालिकामा आएका किसानलाई हामीले भ्याक्सिन सकिएको र भ्याक्सिन खरिद गर्न मंगलवार मात्रै निर्णय भएकाले केहीदिन पख्नुस भनेका थियौं । तर त्यसको कुनै सुनुवाई नै नगरी लिखु तामाकोशी गाउँपालिका– ४ बिजुलीकोटका प्रदिप तामाङ लगाएतका ४ जनाको युवा समुह कार्यालय समयमा पालिका नै आएर फाँटमा बसेर काम गर्दै गरेको अवस्थामा आफुमाथी लात्ती र मुड्की प्रहार गरी कुटपिट गरेको पशु प्राविधिक महतोले बताए ।
कर्मचारी कुटिएको बिषयलाई लिएर लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत सहितको रोहवरमा बिहिबार दुईपक्ष बिच छलफल गर्दा सो छलफलमा उल्लै कर्मचारीलाई अमार्यादित शव्द प्रयोग गर्ने, कुटपिट गर्छौ भन्दै धम्की दिने लगाएतका अपशव्द प्रयोग गरेको बिषयलाई लिएर लिखु तामाकोशी गाउँपालिकाका कर्मचारीहरुले एक विज्ञप्ती प्रकाशन गरेका छन् ।
उक्त विज्ञप्तीमा भनिएको छ सोही समुहले केही दिन अघि योजना निमार्णको कामको मूल्याकंन गर्न फिल्डमा पुगेका इन्जिनियर र प्राविधिक कर्मचारीलाई समेत अपशव्द प्रयोग गर्ने, भने अनुसारको विल बनाइनस भने जे पनि हुन्छ भन्दै धम्क्याउने जस्ता कार्य गर्दै आएको उल्लेख गरिएको छ । सोही बिषयलाई लिएर पालिकाका कर्मचारीहरुले एक विज्ञप्ती प्रकाशन गर्दै यस्ता अवान्छित गतिविधिमा संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिई कानुन अनुसार कारवाही नगरे पालिकाको सम्पूर्ण काम अनिश्चित कालको लागि ठप्प पार्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।