रामेछाप । मन्थली नगरपालिका–९ पुरानागाउँमा संचालनमा रहेको सडक आयोजनाको काम सम्पन्न नहुँदै मन्थली नगरपालिकाले काम सम्पन्न भएको प्रतिवेदन बनाएर उपभोक्ता समितिलाई अन्तिम भुक्तानी दिएको खुलासा भएको छ ।
मन्थली नगरपालिका–९ पुरानागाउँमा चालु आर्थिक वर्षको स्वीकृत वडागत योजना अन्तर्गत १२ लाख ४८ हजार रुपैयाँको लागतमा फोस्रे देविथान स्रोहमुरे खोला खुडवेसी सडक स्तरउन्नतीको काम गर्न फोस्रे देविथान स्रोहमुरे खोला खुडवेसी सडक स्तरउन्नती उपभोक्ता समितिलाई काम गर्ने जिम्मेवारी दिएको थियो । उक्त समितिले काम नै सम्पन्न नगरी किर्ते कागजात पेश गरेर मन्थली नगरपालिकावाट अन्तिम भुक्तानी रकम लिएका हुन् ।
पालिकाले १० लाख भन्दा माथीका ठूला योजनाको अनुगमन मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी बस्नेतको संयोजकत्वमा गठित अनुगमन समितिले गर्दै आएको छ । तर यसपटकको अनुगमनमा भने उक्त समिति चुकेको छ । केही दिनअघि अनुगमनको लागि उप–प्रमुख वस्नेतको नेतृत्वमा इन्जिनियर डिल्ली अधिकारी सहितको जम्बो टोली पुरानागाउँ पुगेपनि गाडीबाट झर्दै नझरी हात हल्लाउँदै मन्थली झरेको एक प्रत्यक्षदर्शीले आफ्नो नाम नछाप्ने सर्तमा बताए । अनुगमन टोली उक्त स्थानमा पुगे नपुगेको भन्ने बिषयमा मन्थली नगरपालिकाकी उप–प्रमुख ईश्वरी वस्नेतसँग सम्र्पक गर्दा उनको फोन उठेन ।
अनुगमनको नाममा गाउँ पुगेको उक्त टोलीले उपभोक्ता समितिले बुझाएको कागजातको आधारमा अनुगमन प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनको आधारमा मन्थली नगरपालिका लेखा शाखाले उपभोक्ता समितिको नाममा असार १ गते १२ लाख ५ हजार ४ सय रुपैयाँ भुक्तानी गरेको छ । योजनाको काम नै सम्पन्न नभएको उक्त योजनाको कसरी अन्तिम भुक्तानी भयो यस बिषय अहिले सबैको चासो बनेको छ । उक्त योजनाको तारजाली भर्ने काम अझै बाँकी रहेको छ ।
उक्त योजनाको काम भएको छ, छैन् ? हेर्दै नहेरी सदरमुकाम मन्थली बसेर मन्थली नगरपालिकाका सव–इन्जिनियर कृष्णदाश श्रेष्ठले योजनाको अन्तिम मूल्यांकन गरेको आरोप स्थानियको छ । गाउँमा योजनाको काम बाँकी छ तर योजना सम्पन्न भइसक्यो भनेर प्राविधिकले मूल्याकंन गरेर भुक्तानीको लागि सिफारिस गरिदिएछन् । सम्पन्नै नभएको योजनाको उपभोक्ता समिति,प्राविधिक, अनुगमन समिति, प्रमुख प्रशासकिय अधिकृत र लेखा शाखाका कर्मचारीको मिलेमतोमा अनियमितता गर्ने हिसावले रकम भुक्तानी भएको प्रस्टै देखिएको स्थानिय एक नेताले बताए ।
योजनाको काम सम्पन्नै नभई कसरी कागजात पेश गरियो भन्ने बिषयमा उक्त समितिका अध्यक्ष महारुद्र गिरी सँग उनको मोवाइल नम्वर ९८५४०४००४९ मा सम्र्पक गर्दा उनले मोवाइल स्विच अफ गरेर राखेका कारण प्रतिक्रिया लिन सकिएन । यता सोही उपभोक्ता समितिका सचिव टंकराज गिरीसँग सम्र्पक गर्दा उनले भने– अध्यक्ष गिरीले प्राविधिक इष्टमेट अनुसार काम नै गरेका छैनन् । नभएको काम समेत सम्पन्न भयो भनेर नगरपालिकामा कागजात पेश गरेर रकम निकालेका रहेछन् । पालिकाबाट रकम निकासा भएको भन्ने जानकारी समितिका कुनै पदाधिकारीले थाहा नै पाएनन् । मैले अन्यत्र स्रोतबाट थाहा पाएँ, योजनाको रकम अध्यक्षले निकालेर अनियमितता गर्न थालेका रहेछन् । सदरमुकाम मन्थलीमा रहेको साग्रीला डेलपमेन्ट बैंकमा आफै पुगेर हाललाई उक्त रकम रोक्का गरेको छु ।
योजना शुरु भएदेखी उपभोक्ता समितिका अध्यक्ष गिरीले एउटा पनि बैठक नबोलाएको, उपभोक्ता समितिका पदाधिकारीलाई वास्तै नगरी एकलौटी ढंगले आफु खुशी योजनाको काम गरेको, नगरपालिकामा बुझाएको कागजातमा समेत अध्यक्ष आफैले सही गरेर बुझाएको लगाएतको आरोप उपभोक्ता समितिका पदाधिकारीहरुको रहेको छ ।
यता मन्थली नगरपालिका–९ का वडा अध्यक्ष गोकर्णराज आरणले सम्पन्न नभएको योजनाको कामलाई सम्पन्न भयो भन्दै भुक्तानीको लागि नगरपालिकालाई सिफारिस गरेका छन् । उपभोक्ता समितिका अध्यक्ष गिरी वडा अध्यक्ष आरणको आफ्नै सालो भएकाले पनि उनले समितिसँगको मिलेमतोमा अनियमितता गर्न खोजेको आरोप स्थानियहरुले लगाएका छन् । सम्पन्न नै नभएको योजनालाई किन सिफारिस दिनु भयो भन्ने जिज्ञासामा अध्यक्ष आरणले भने– अलिकती काम बाँकी छ भने, गर्लान भन्ने भयो । त्यही भएर सिफारिस दिए भन्दै गैर जिम्मेवारी उत्तर दिए । उनले थपे यो त प्राविधिकको काम हो । प्राविधिकले हेर्नुपर्ने हो के हेरे को नी भन्दै आफु पन्छिने खालको प्रतिक्रिया दिए ।
काम नै सम्पन्न नभएको योजनाको भुक्तानी दिएको बिषयमा मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चापागाईसँग सम्र्पक गर्दा उनले अनुगमन गरेको कागजातको आधारमा मात्रै भुक्तानी दिएको बताए । उनले भने– के कतै यस बिषयमा गुनासो आएको छ र ? यदी गुनासो आएको भए अर्कै प्रोशेस हुन्छ ? तर अर्को के प्रोशेस भन्ने बिषयमा उनले खुलाउन चाहेनन् ।