रामेछाप । लुटपाट गरेको सुन खरिद गरेको अभियोगमा नेपाल सुनचाँदी कला व्यवसायी संघ रामेछापका सचिव एवं रामेछाप उद्योग वाणिज्य संघका सचिव सिताराम लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।

विल बिनाको सुन खरिद गरेको अभियोगमा प्रहरीले आइतवार साँझ लोहारलाई उनकै पसलवाट पक्राउ गरेको हो । उनी विगत वर्षदेखी मन्थली बजारमा न्यु सनराइज ज्वेलर्स सुनचाँदी पसल संञ्चालन गर्दै आएका छन् । उनले विगत समयमा पनि बिल विनाको सुनका गरगहना खरिद गर्ने गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।
त्यसैगरी सुन लुटपाट गर्ने एक महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकुलगंगा गाउँपालिका–२ ठोसेकी मैया कार्की रहेकी छिन् । उनले मन्थली नगरपालिका–६ की बिबा माझीले लगाएको कानको दुइवटा रिङ लुटपाट गरेकी थिइन । घटना विवरण अनुसार वजारमा सामान खरिद गरेर माइती घर मन्थली नगरपालिका–१ हाटेचौरी तर्फ फर्कदै गरेकी माझीलाई पिछा गर्दै कार्की जिल्ला प्रहरी कार्यालय छेउसम्म पुगेकी थिइन ।


शारिरीक रुपमा अशक्त रहेकी माझीलाई कार्कीले होटलमा वसेर खाजा खाऔं भन्दै फकाएर एक होटल भित्र लगी लोकल मदिरामा अखाद्य वस्तु मिसाएर खान दिई वेहोस् बनाएर उनले लगाएको कानका दुईवटा मुन्द्रा लुटपाट गरेकी थिइन । सुन लुटपाटपछि कार्कीले उक्त सुन मन्थली वाजरमा रहेको न्यु सनराइज ज्वेलर्समा लगेर विक्री गरेकी थिइन ।
सुन लुटपाट भएको घटनाको बिषयमा पिडीतले प्रहरीमा उजुरी गरेपछि लुटपाटमा संम्लग्नको खोजीमा निस्किएको प्रहरीको टोलीले कार्कीलाई ठाेसेबाट पक्राउ गरेको हो । उनीसँगै सुन खरिद गर्ने व्यवसायीलाई समेत पक्राउ गरि कानुन अनुसार अनुसन्धान अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवालले जानकारी दिए ।




