रामेछाप । सदरमुकाम मन्थलीवाट सेलेघाट तर्फ जादै गरेको बागमती प्रदेश–३०१००३ क ५६४४ नम्बरको मालवाहक लरी शुक्रवार विहान मन्थली नगरपालिका–६ पाखाबारीमा दुर्घटना परेको छ ।

उक्त मालवाहक लरी दुर्घटना हुँदा लरी चालक नुवाकोट, दुप्चेश्वर गाउँपालिका–७ सिखरबेसीका ४४ वर्षीय प्रवास ओली घाइते भएका छन् । उनको घटनास्थलवाट उद्धार गरी मन्थली अस्पतालमा उपचार भइरहेको र चालकको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।
दुर्घटनामा परेको लरी सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध स्थलमा रहेको प्लाण्टका लागि सिमेन्ट बोकेर सेलेघाट तर्फ जाँदा दुर्घटनामा परेको हो । दुर्घटनामा परेको ट्रक पटेल रमण कन्स्ट्रक्सनको रहेको र दुर्घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


गतवर्षको असोज १२ गतेको वर्षातसँगै आएको सुनकोशीको बाढीले खुर्कोटमा रहेको सुनकोशीको मोटरेवल पुल बगाएपछि पुननिर्माण गरिएको बेलिब्रीजमा १५ टन भन्दा बढी क्षमताका सवारीसाधन आवत जावतमा रोक लगाइएको छ । सुनकोशी मरिण डाईभर्सन आयोजनाको बाँध स्थलमा आवश्यक पर्ने निर्माण सामाग्रीहरु बोक्ने ठुला भारबहन साधन सिन्धुली र रामेछापको संगम स्थल सुनकोशीको सित्खा पुल तारेर रामेछापको सदरमुकाम मन्थली हुँदै आयोजनाको निमार्णस्थलसम्म लैजाने गरिन्छ ।