फौजी किराले मकै सखाप,किसान चिन्तित

रामेछाप । यसबर्ष पनि अमेरिकन फौजी किराले किसानले लगाएको मकै सखाप पार्न थालेपछि रामेछापका किसानहरु चिन्तित बनेका छन् ।

केही वर्षअघिवाट देखिएको फौजी किराले किसानहरुले लगाएको बालीनालीमा पसेर पात र विरुवा दुवै खाएर सखाप पारिदिएपछि किसानले मेहेनत गरेको सवै खेर गएको थियो । यसवर्ष पनि जिल्लाका अधिकांश क्षेत्रमा लगाएको मकै बालीमा फौजी किराले क्षति पुर्याएको छ । किराको हुलले मकैको पात, गुभा र डाँठ समेत खाएपछि मकैबाली नै सखाप हुने हो कि भन्ने चिन्ताले सताएको मन्थली नगरपालिका–४ सालुका किसान जयबहादुर खत्रीले बताए ।

उनले भने– खडेरीको बाबजुद पनि बल्लतल्ल हुर्कीएका मकै जोत्ने बेलामा किराकोे प्रकोप देखिएको छ । गत वर्षहरुमा पनि दुःख दिएको फौजि किराले यस वर्षपनि खेतवारीमा छोडेन । गएको वर्ष पनि नगरपालिकाले दिएको औषधी छरेर केही रोग नियन्त्रणमा आएता पनि उत्पादन भने घटेको थियो । यसवर्ष कुनै सरकारी कार्यालयले पनि किटनाषक औषधी दिएका छैनन् । आफुसित औषधी किन्ने पैसा पनि नभएकाले यसवर्ष उत्पादन ठप्प हुने अवस्था आएको खत्रीले बताए ।

धेरै किसानले फौजि किरा नियन्त्रण गर्न विषादी किनेर प्रयोग गर्दै आएका छन् । गत वर्षहरुमा नगरपालिकाले निशुल्क विषादी वितरण गर्दा किरा नियन्त्रणमा सहयोग पुगेको भएपनि यस वर्ष आफैले विषादी खरिद गर्दा निकै महंगो पर्न गएको किसानको गुनासो छ । विगतका वर्षहरुमा नगरपालिकाले वजेट नै छुट्टाएर विषादी खरिद गरेर किसानहरुलाई वितरण गर्ने गरिएकोमा यसवर्षवाट औषधी खरिदमा वजेट नछुटएको कारण औषधी खरिद गर्न नसकिएको रामेछाप नगरपालिकाका कृषि शाखा अधिकृत कृष्ण भुजेलले बताए ।

एकातिर समयमा वर्षात नहुँदा समस्या खेपेका किसानहरु जेनतेन लगाएको वाली पनि फौजी किराले सखाप पारिदिएपछि कसरी जिविकोपार्जन गर्ने भन्ने चिन्ताले किसानहरुलाई सताउन थालेको छ । फौजी किराले मकै मात्र हैन अन्य तरकारी वालीमा समेत क्षती पुर्याएको छ । फौजी किरावाट हैरानी खेप्दै आएका किसानहरु यस रोगवाट कसरी वालीनाली जोगाउने भन्ने तर्फ छलफलमा जुटेका छन् ।

किसानहरुले लगाएको अन्नवाली कहिले जंगली जनावरहरुले खाएर हैरान पार्ने त कहिले फौजी किरा लाग्ने जस्ता समस्याले गर्दा खेत तथा वारीमा अन्नवाली लगाउनु भन्दा वजारमा किनेर खान नै राम्रो हुला जस्तो भएको मन्थली नगरपालिका–१ का हरिराम भुजेलले बताए ।

Scroll to Top