नागरिकको सहजताको लागि सुनापतिमा वडै पिच्छे घुम्ती शिविर

रामेछाप । नागरिकहरुलाई गाउँमै सहज तरिकाले सेवा पुगोस् भन्ने उद्धेश्यले सुनापति गाउँपालिकाले सवै वडामा पुग्ने गरी घुम्ती शिविर सञ्चालन गरेको छ ।

पालिकाले आइतवारवाट सो गाउँपालिकाको वडा नं १ गुन्सीवाट सेवा शुरु गरेको हो । शिविरमा नयाँ व्यवसाय दर्ता, पुराना व्यवसाय नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपंगता परिचय पत्र नविकरण र परामर्श सहित कृषिजन्य विषादी वितरण, कृषक समूह दर्ता, माटो परीक्षण, पशुजन्य औषधी वितरण, पशुको क्यास्ट्रेसन तथा अन्य सामान्य उपचार र रेबिज खोपको सेवा उपलव्ध गराइने छ ।

त्यसैगरी विभिन्न योजना सम्झौता, ३० वर्ष माथिका महिलाहरुलाई भिआइए स्क्रिनिङ र रिङ पेशरी राख्ने र ५० वर्ष माथिका नागरिकहरूको आँखाको मोतीबिन्दु रोगको स्क्रिनिङ लगायतका १४ वटा सेवाहरु सो शिविर मार्फत नागरिकलाई प्रदान गरिने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेश कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार वडा नं १ गुन्सीवाट शुरुवात भएको उक्त शिविर वडा नं २ मा पुस १५ गते, वडा नं ३ मा १६ गते, वडा नं ४ मा १७ गते र वडा नं ५ मा १७ गते सम्पन्न गर्ने अधिकृत श्रेष्ठले बताए ।

Scroll to Top