
रामेछाप । मन्थली नगरपालिकाको गौरवको आयोजनाका रुपमा रहेको तीनलाल पर्यटकीय पार्कको बिहिवार मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले औपचारिक रुपमा उद्घाटन गरेका छन् ।

मेयर श्रेष्ठले पार्कको उद्घाटन गरेसँगै उक्त पार्कको साँचो पाँच पोखरी सुबेदी जेभिका प्रोपाईटर सुजन कार्कीले मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र प्रमुख प्रशासकिय अधिकृत हरि चापागाईलाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । पार्क उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख श्रेष्ठले नगरको गौरवको रुपमा रहेको तीनलाल पार्कको संचालन सँगै व्यवस्थीत गर्न नगरलाई चुनौती रहेको भन्दै यस पार्कलाई व्यवसायीक प्रयोजनको लागि चाडै नगरले टेण्डर आव्हान गर्ने बताए ।


सोही कार्यधक्रममा मन्थली नगर पालिकाका निर्वतमान प्रमुख रमेश बस्नेतले आफ्नो कार्यकालमा नगरको गौरवको आयोजनाका रुपमा शुरु गरेको तीन लाल पार्कको समुद्घाटन कार्यक्रममा सहभागी हुन पाउँदा आफुलाई खुसी लागेको बताए । उनले आफ्नो कार्यकलमा आफनै टिम भित्रका साथीहरुको असहयोगका कारण सोचेजति काम गर्न नसकेको भएता पनि आफ्नो कार्यकालमा नगरभित्र धेरै राम्रा कामको थालनी गरेको दावी गरे ।
त्यस्तै निर्वतमान नगर प्रमुख वस्नेतले आफु अत्यन्तै अफ्ठेरो परिस्थीतिमा नगर प्रमुखको जिम्मेवारी सम्हालेको सम्झदै वर्तमान नगरप्रमुखको कार्यकाल चार बर्ष आफु मन्थलीमानै बसेर नगरको विकास र सम्बृद्धिको लागि वाच डगको भूमिा निर्वाह गर्न चाहेको बताउँदै यसको लागि हालका जनप्रतिनधिसँग हातेमालो गरेर अघि वढ्ने बताए ।
आयोजना निमार्ण गर्ने जिम्मेवारी लिएको निमार्ण कम्पनीले नगरपालिकासँग गरेको सम्झौता भन्दा १ वर्ष ७ महिना ढिलो गरी उक्त आयोजना सम्पन्न गरेको छ । आकाशेको तीनपार्कमा १७ रोपनी जग्गामा फैलिएको उक्त पार्कमा २ तले प्रशासनिक भवन, ४ सय ८ जना क्षमताको सभाहल, महिला र पुरुष वालवालिकाहरुको लागि समेतको ३ वटा स्विमिङ पुल, ७५ देखि एकसय जना क्षमताको चेन्जिङ्ग रुम तथा स्नान कक्ष समेत रहेको छ । त्यस्तै पार्कमा क्याफ्टेरिया भवन चमेना गृह, टिकट घर तथा शौचालय र बगैँचा पनि निर्माण भएको छ ।

उक्त आयोजना सम्पन्न गर्न मन्थली नगरपालिकाको ४ करोड र सङ्घीय सरकारले २ करोड ८८ लाख रुपैयाँको लगानीमा उक्त पार्क निर्माण सम्पन्न भएको हो । सो पार्क निर्माणको लागि १० करोड रुपैयाँ बजेट स्वीकृत भएता पनि निमार्ण व्यवसायी पाँच पोखरी सुवेदी जे भी चाबहिलले ६ करोड ८८ लाख २२ हजार ३ सय ७ रुपैयाँमा कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।
पार्कको उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौला,मन्थली नगरपालिकाकी उप– प्रमुख ईश्वरी बस्नेत, नगरभित्रका सवै वडाका वडाअध्यक्षहरु, राजनितिक दलका प्रतिनिधिहरु, जिल्ला स्थित सञ्चार माध्यमका प्रतिनिधिहरु लगाएतको उपस्थिती रहेको थियो।