रामेछाप । असार सकिन लाग्दा समेत पानी नपरेपछि मन्थली नगरपालिका–७ भटौलीका किसानहरुले भटौली खोलामा पानी माग्दै रुद्री पूजा लगाएका छन् ।
पानी नपर्दा खाँडादेवी गाउँपालिका–४ पकरवास र मन्थली नगरपालिका–७ भटौलीको सिमानामा बहने दुर्गा नदी (भटौली खोला) मा पानी सुकेपछि त्यस आसपासका सयौं रोपनी खेती योग्य जमिन बाझै रहेको छ । खोलामा पानी नभएपछि किसानले रोपाई गर्न सकेका छैनन् । भटौली खोलाको पानीले खोला आसपासका सयौं रोपनी जग्गा सिंचित हुँदै आएको छ । खोलामा पानी सुकेर कमिला हिड्न थालेपछि किसानहरुले पानी पारिदिन माग गर्दै इन्द्र भगवानलाई पुकार्दै दुर्गा नदीमा रुद्री पूजा लगाएका हुन् ।
पकरवासको माडीफाँट खेती योग्य जमिनको हिसावले जिल्लाकै सवैभन्दा ठूलो क्षेत्र मानिन्छ । उक्त क्षेत्रमा रहेको सयौ रोपनी जग्गा पानी अभावका कारण अहिलेसम्म किसानले रोपाई गर्न सकेका छैनन् । किसानले खेत जोतेर ठिक्क पारेर राखेका छन् । पानी पर्ला की भन्ने आश पनि गरेका छन् । तर पानी नपर्दा उनीहरु निराश छन् ।
भटौली खोलामा पानी नभएपछि केही किसानहरुले प्रति घन्टा २ सय रुपैयाँ तिरेर तामाकोशी नदीको पानी तानेर रोपाई गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका किसानहरु भने आकाशे पानीको भरमा वस्न विवश छन् । पानी पर्ला कि भन्ने आशामा धेरै समय पर्खियौैं । असार बित्न लाग्दा समेत पानी पर्ने छाटकाट नदेखिएपछि पालो प्रणालीमा प्रति घण्टा २ सय रुपैयाँ तिरेर तामाकोशी नदीको पानी मेसिनवाट तानेर रोपाई गर्न थालिएको मन्थली नगरपालिका–७ भटौलीका कृषक दुर्गा श्रेष्ठले जानकारी दिए ।
असार महिनाको आधाआधीमा लगभग खेत रोपाई सकिसक्ने किसानहरु असार महिनाको अन्तिम हुँदा सम्म पनि खेतमा रोपाई गर्न सकेका छैनन् । आकाशे पानीको भर परेर बसेका किसानहरु पानी नपर्दा दैनिक किसानहरु आकाश हेर्दै सुस्केरा हाल्दै बस्न विवश छन् । पानी नपर्दा रामेछापका अधिकासं खेतहरु बाँझै रहेका छन् । रामेछापमा हालसम्म जम्मा ३० प्रतिशत मात्रै धान रोपाई सकिएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ ।