रामेछाप । मन्थली नगरपालिकाले शुक्रवार आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्यक्रम पालिकाका दश वडाका अध्यक्षहरुले बहिष्कार गरेका छन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा नगर भित्रका जिम्मेवार वक्ताहरु नै अनुपस्थित भएपछि ४ वडाका अध्यक्ष, कार्यालयमा भएका कर्मचारीहरु र न्यून सहभागीको माझ मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । पालिकाले शुक्रवार विहान ११ वजेदेखी कार्यालयको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भन्ने सूचना फेसवुक पेज र केही स्थानिय रेडियो मार्फत सूचना जारी गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम गर्नु अघि मन्थली नगरपालिकाको वैठक बस्दा केही वडाका अध्यक्षहरु मात्रै सहभागी भएका थिए । सवै अध्यक्षहरु वैठकमा अनुपस्थित हुँदाहुँदै मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाई गर्ने निर्णय गरेको थियो । पालिकाले गरेको उक्त निर्णय आफुहरुलाई जानकारी नभएको भन्दै बहुमत वडा अध्यक्षहरुले उक्त कार्यक्रम बहिष्कार गरेका हुन् ।
उक्त कार्यक्रममा मन्थली नगरपालिका ३, ८,९ र १४ वडा अध्यक्ष बाहेक अन्य १० वटा वडाका अध्यक्षहरू उपस्थित थिएनन् ।
सार्वजनिक सुनुवाई कार्यक्रममा थोरै मात्रामा नागरिकको उपस्थिती रहेको थियो भने अन्य केही गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सहभागीहरुले जिम्मेवार वक्ताको रुपमा रहेको सम्वन्धित वडाका वडा अध्यक्ष नै कार्यक्रममा उपस्थित नभएपछि प्रश्न कसलाई सोध्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठलाई प्रश्न सोधेका थिए ।
नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको सूचना किन नागरिकसम्म पुग्दैन ? मन्थली नगरपालिका–१ शिक्षिका सोविता न्यौपानेले कार्यक्रममा प्रश्न गरिन । उनले भनिन् – खै वडा नं १ का वडा अध्यक्ष त यहाँ कार्यक्रममा देख्दिन त ? मैले उहाँलाई एउटा प्रश्न सोध्नु थियो । वडा अध्यक्षलाई नै सूचना नपाउने सार्वजनिक सुनुवाई कार्यक्रम नागरिकहरुले कसरी थाहा पाउन सक्छन् ? भन्दै नगरले गरेको सार्वजनिक कार्यक्रमको बिषयमा नागरिकलाई किन खबर गरिदैन् भन्ने प्रश्नको उत्तर मागिन ।
नगरपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रम कर्मकाण्डी मात्रै भएको नागरिक अगुवा बिरेन्द्र श्रेष्ठले बताए । उनले भने– नगरले गरेका विभिन्न विकास निमार्णका काममा पनि पछिल्लो समय राजनितिक गन्ध मिसिएको छ । यस कार्यक्रममा प्रमुख वक्ताको रुपमा जिम्मेवार वडा अध्यक्ष नै नहुनु, अर्कोतर्फ नागरिकको न्यून उपस्थिती रहेको देख्दा यो सार्वजनिक सुनुवाईको कुनै औचित्य नभएको श्रेष्ठले बताए ।
त्यस्तै गैरसरकारी संस्था महासंघ रामेछापका अध्यक्ष रत्न कँडेलले कार्यक्रममा नगरका बहुमत वडा अध्यक्ष नै अनुपस्थित हुनु चिन्ताको बिषय भएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रममा मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको २०७९ साउन देखी ०८० असार २८ गतेसम्म विकास निमार्णमा भएको खर्च र प्रगतीको वारेमा प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद चापागाईले सहभागीहरु माझ सार्वजनिक गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नको जवाफ मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दिएका थिए । उनले वडा नं १३ फुलासीका वडा अध्यक्ष नवराज थापामगरले आफु अस्वस्त भएका कारण कार्यक्रममा उपस्थित हुन नसक्ने जानकारी दिएको बताए । त्यसवाहेक अन्य बहुमत वडा अध्यक्ष किन उपस्थित हुनु भएन । यसबारेमा आफुलाई कुनै जानकारी नभएको भन्दै वडा अध्यक्ष अनुपस्थित हुनु स्वंय अध्यक्षहरुकै बिषय भएको भन्दै प्रमुख श्रेष्ठ पन्छिए ।
सार्ववनिक सुनुवाई कार्यक्रममा सहभागी नभएको बिषयमा केही वडा अध्यक्षहरुसँग सम्र्पक गर्दा उनीहरुले पालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको आफुहरुलाई कुनै पनि जानकारी नभएको बताए । सार्वजनिक सुनुवाई कार्यक्रम बहिष्कारको गरेको हो भन्ने बिषयमा उनीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन् ।