रामेछाप । छिमेकी मुलुक भारत सरकारले चामल निर्यातमा रोक लगाएको भन्दै रामेछापका व्यवसायीहरुले मनलाग्दी रुपमा खाद्यान्न लगाएतका दैनिक उपभोग्य सामाग्रीमा मूल्य बढाउँदा बजार अनुगमनको जिम्मेवार निकाय जिल्ला प्रशासन कार्यालय रामेछाप भने बेखबर जस्तै बनेको छ ।
व्यवसायीहरुले मनलाग्दी रुपमा खाद्यान्नमा मूल्य बृद्धि गरेकाले आफुहरु ठगिएको भन्दै सो बिषयमा स्थानिय उपभोक्ताहरुले जिल्ला प्रशासन कार्यालयमा टेलिफोन मार्फत जानकारी पनि गराए । तर बजार अनुगमनको जिम्मेवार निकाय नै उपभोक्ताले गरेको गुनासो नसुनेको झैं गरेर बस्दा रामेछापका आम उपभोक्ताहरु दैनिक रुपमा ठगिन बाध्य छन् ।
अहिले व्यवसायीले एकहप्तामै चामल प्रतिवोरा ५ सय रुपैयाँसम्म मूल्य बृद्धि गरेका छन् । एकहप्ता अघि वजारमा एकवोरा चामल १७ सय सय रुपैयाँमा किनेको सोही चालम एक हप्तापछि प्रति वोरा २१ सय ५० रुपैयाँमा किन्नु परेको मन्थली नगरपालिका–१ का डिलवहादुर सार्कीले जानकारी दिए । उनले भने–चामलको मूल्य बढेर आएको भन्दै व्यवसायीहरुले मनलाग्दी रुपमा हामीजस्ता सिधासिधा उपभोक्तासँग पैसा असुल्दै आएका छन् । अहिले पसलै पिच्छे व्यापारीले आफ्नै मनखुशिमा मूल्य राखेका छन् । जसले गर्दा पसलै पिच्छे मूल्य छुट्टाछुट्टै रहेको सार्कीले बताए ।
यसरी जिल्लाका आम उपभोक्ताहरु दैनिक रुपमा ठगी रहदा समेत स्थानिय प्रशासनले वजार अनुगमनको काम अघि वढाउन नसक्नु दुःखद भएको नागरिक समाजका अगुवा बिरेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने– उपभोक्ताहरुले दैनिक हामीहरु व्यवसायीवाट ठगियौं भन्दा समेत स्थानिय प्रशासन कानमा तेल हालेर बसेको छ । प्रशासन नागरिक प्रति संवेदनशिल नभएको होकी भन्ने भान उपभोक्ताहरुलाई परेको छ । प्रशासनकै आँखा अगाडी व्यवसायीले मनलाग्दी मूल्य लिदा रामेछापका दुर्गम गाउँको उपभोक्ता कति ठगिएका होलान् सहजै अनुमान लगाउन सकिन्छ श्रेष्ठले बताए ।
अहिले बजारमा पसलै पिच्छे खाद्यान्न लगाएत दैनिक उपभोग्य मूल्य फरकफरक रहदा रामेछाप उद्योग बाणिज्य संघ भने चामल मिलमा नै मूल्य बढेर आएकाले मूल्य पसलै पिच्छे फरक पर्न गएको भन्दै व्यवसायीको बचाउँ गर्दै आएको छ । वजारमा चामल र अन्य खाद्यान्नमा मूल्य बढेकाले पसलै पिच्छे मूल्य फरक परेको रामेछाप उद्योग बाणिज्य संघका सचिव यज्ञ प्रसाद सुवेदीले जानकारी दिए ।
व्यवसायीहरुले छिमेकी मुलुक भारत सरकारले चामल निर्यातमा रोक लगाएको भन्दै त्यसको मौका छौपी वजारमा मनलाग्दी मूल्य बृद्धि गरेको उपभोक्ताबाट गुनासो बढेपछि गृह मन्त्रालयले तत्काल बजार अनुगमन गरी मूल्य नियमनको लागि सबै जिल्लामा परिपत्र गरेको थियो । गृह मन्त्रालयले पठाएको पत्र घर्रामा थन्काएर रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौला बिदा लिएर राजधानी तर्फ हानिएकी छिन् ।
व्यवसायीहरुले मौका छोपी मौज्दात रहेको सामाग्रीको समेत आफूखुशी मूल्य बढाएर विक्री गर्दै आएको भन्ने गुनासो जिल्ला प्रशासन कार्यालयमा प्रस्सतै आएको रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी एवं वजार अनुगमन समितिका संयोजक दीपक कोइरालाले जानकारी दिए । उनले भने– मूल्य बृद्धिको बिषयमा सिडियोसापसँग पनि कुरा भएको छ । अब चाडै सरोकार निकायसँग छलफल गरेर अन्तिम निर्णयमा पुग्ने छौं । तर चाँडै भनेको कहिले भन्ने प्रशासनले खुलाएको भने छैन् । जसकाकारण दैनिक रामेछापका उपभोक्ता ठगिन वाध्य छन् ।
रामेछापमा अहिले चामल, चिउँरा, खानेतेल, खाना पकाउने एलपी ग्याँस, दाल, गेडागुडी, मैदा लगाएतका सामाग्रीमा स्थानिय व्वयसायीहरुले मूल्य बृद्धि गरेका छन् । व्वयसायीहरुले यसरी एकपक्षीय रुपमा मूल्य बृद्धि गर्दा समेत उपभोक्ता मञ्च रामेछापले कुनै आवाज उठान सकेको छैन् ।