दुर्गम गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर,सेवा लिन हजारौं विरामी ओइरिए

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–५ धोवीवजारमा भएको एकदिने विशेषज्ञ स्वास्थ्य शिविरमा उपचार लिन हजारौं विरामी ओइरिएका छन् ।

दुर्गम गाउँमा आर्थिक अभावकाकारण वर्षौदेखी रोग पालेर बसेका विरामीहरु गाउँमै विशेषज्ञ स्वास्थ्य शिविर आएपछि चिकित्सकलाई देखाउन हजारौं नागरिकहरु एकै पटक गाउँमा जम्मा भएका हुन् । लिखु तामाकोशी गाउँपालिकाले काठमाण्डौं मेडिकल कलेज (केएमसी)सँग साझेदारीमा एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चाल गरेको हो ।

उक्त शिविरमा १ हजार ३ सय ११ जना स्थानीय विरामी नागरिकहरुले विशेषज्ञ स्वास्थ्य शिविर गाउँमै लिएका छन् । नागरिकहरुलाई स्वास्थ्य सेवा दिन मेडिकल कलेजवाट दुई दर्जन चिकित्सक सहितको जम्मो टोली गाउँमै दुई दिनसम्म वसेर सेवा प्रदान गरेका थिए । आर्थिक अभावका कारण उपचार लिन अस्पतालसम्म जान नसकेका आफुजस्ता धेरै नागरिकहरुले गाउँमै आएको शिविरमा उपचार लिन पाउँदा धेरै खुशी लागेको लिखु तामाकोशी गाउँपालिका–५ का दीपक तामाङले जानकारी दिए ।

शिविरमा आएका विरामीहरुको सामान्य जाँचदेखी ईसीजी, भिडियो एक्सरे, इको, प्रयोगशाला परीक्षण तथा दन्त उपचार लगाएतका सेवा चिकित्सकहरुले प्रदान गरेका थिए । जसमध्ये ८४ जनाको ईसीजी, १ सय ४७ जनाको भिडियो एक्सरे गर्नुको साथै ८१ जनाको प्रयोगशाला परीक्षण, ७७ जनाको इको परीक्षण र १९ जनाको दाँत सम्वन्धि विरामीको उपचार गरिएको थियो । उपचार लिन आएका विरामीहरु मध्ये २७ जना जटिल किसिमका भेटिएकाले उनीहरुलाई थप उपचारको लागि केएमसी अस्पताल काठमाण्डौंमा नै रेफर गरिएको डा.इश्वरी पौडेलले जानकारी दिइन ।

गाउँका नागरिकहरुलाई स्थानियस्तरमा नै विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने अभियान अन्तर्गत केएमसी अस्पतालसँग सहकार्य गरेर एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा पालिकाले राखेको आंकलन भन्दा बढी नागरिकहरुले भरपुर मात्रामा स्वास्थ्य सेवा लिएको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महतले जानकारी दिए ।

उनले भने– कतिपय त आर्थिक अवस्थाकै कारण लामो समयदेखी रोग पालेर वस्नुभएका विरामीहरुले सहज तरिकाले गाउँमै स्वास्थ्य सेवा लिन पाउनुभएको छ । विरामीहरुले गाउँमै चेकजाँच गरेर सामान्य रोग र गम्भिर प्रकृतीका रोग लागेको समेत समयमा नै थाहा पाउँदा थप उपचार लिन सहज भएको अध्यक्ष महतले बताए ।

पछिल्लो समय केएमसी अस्पताल काठमाण्डौंका सञ्चालक एवं नेपाली काँग्रेसका नेता सुनिलकुमार शर्माले रामेछापका ८ वटै स्थानिय तहका नागरिकहरु विरामी परेर उपचार लिन जाँदा काठमाण्डौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कजेलमा जाने विपन्न, असहायलाई उपचारमा लाग्ने शुल्कमा भारी छुटदेखी अन्य उपचारमा २५ देखी ५० प्रतिशतसम्म छुट दिदै आएका छन् ।

Scroll to Top