रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा संचालित केही पेट्रोलपम्पले पेट्रोलियम पदार्थ अभाव देखाउँदै बन्द गरेको भन्दै अनुगमन गर्न निस्किएको अनुगमन टोलीले जरिवाना गराएपछि पेट्रोलपम्पका संचालकहरु आन्दोलित भएका छन् ।
पम्प संचालकहरुले आइतवार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी आफुहरुलाई विना कारण प्रशासनले जरिवाना तिराएको भन्दै आन्दोलित भएको बताएका छन् । गएको १६ गते अनुगमनको क्रममा उद्योग तथा बाणिज्य कार्यालय रामेछापका प्रमुख सुवोधकुमार शाहको नेतृत्वमा निस्किएको टोलीले निलकठ्ठेश्वर आयल स्टोरमा तेल नभएको भन्दै २ लाख ५० हजार जरिवाना गरेर एकहप्ताको लागि पम्प बन्द गराएको थियो ।
त्यसैगरी अनुगमन समितिले बन्द रहेको शुभ सम्बृद्धि आयल स्टोरमा शिल गरेका थिए । सो पम्पका संचालक जिवन वुढाथोकी आफ्ना बाबा विरामी परेपछि जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएर उपचारको लागि काठमाण्डौं गएका थिए । बुढाथोकीले आफ्ना बाबा गम्भिर विरामी भएको र जिल्लाको अस्पतालले रिफर गरेकाले थप उपचारको लागि काठमाण्डौं लैजानुपर्ने भएकाले केही दिनको लागि पम्प बन्द रहने भन्दै लिखित नै निवेदन पेश गरेर गएका थिए ।
तर उक्त निवेदनको कुनै सुनुवाई नै नगरी अनुगमन समितिले बन्द रहेको पम्पमा समेत शिल गरेपछि जिल्लामा रहेका ४ वटा पेट्रोलपम्पका संचालक नै आन्दोलित भएका हुन । रामेछापका पेट्रोलपम्पलाई अनावश्यक दुःख दिएको भन्दै रामेछापका पम्पहरु आवद्ध रहेको सिन्धुली हाइवे पेट्रोलियम डिर्लस एसोसियसनले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने सो पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
एशोसियनसका अध्यक्ष रामहरी थापाले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ व्यवसायीको माग पुरा नभए जिल्लाका ४ वटा पम्पहरू भदौ २५ गते दिउँसो १ बजे देखि ५ बजे सम्म पम्महरुबाट तेल बिक्री वितरण ठप्प पार्ने जनाएको छ । त्यस्तै लक्ष्मी आयल स्टोर्स मन्थली र जाल्पादेवी आयल स्टोर खिम्तीले समेत सो अवधिमा तेल बिकी गरिरहेकोले मन्थलीमा तेलको अभाव नरहेको अवस्था व्यवसायीलाई कार्वाही गरेको जनाइको छ ।
निलकठ्ठेश्वर आयल स्टोर्सले दिउँसो ३ वजेसम्म तेल विक्री गर्दैगर्दा तेल सकिएको मौका पारी अनुगमन समितिले किर्तीम अभाब सिर्जना गरेको भन्दै गलत दफा लगाएर व्यवसायीलाई २ लाख ५० हजार जरिवाना गराएको थियो । अनुगमन समितिको विरुद्ध वाध्य भएर आफु न्यायको लागि पुनरावेदन जानु परेको निलकठ्ठेश्वर आयल स्टोर्सले आयल स्र्टोसका संचालक सागर सुबेदीले जानकारी दिए ।
उनले भने– अनुगमन समितिले गरेको कार्वाही नै गलत छ । तेल लुकाएको भए पो किर्तीम अभाव भयो भन्नु । भएको तेल विक्री गरेको छु । तेल ल्याउनको लागि पैसा डिपोजित गरेको छु । गाडी तेल लिन पठाएको छु । पम्पमा भएको तेल विक्री गर्दागर्दै सकियो ? मैले कसरी किर्तीम अभाव सिर्जना गरे ।
व्यवसायीहरुले अनुगमन समितिले गरेको जरिवाना रकम बढी भएकाले न्युनतम गर्नुपर्ने, वन्द रहेको पम्पमा शिल गरेकाले तत्काल खुलाउनु पर्ने र व्यवसायीलाई अनुगमनको नाममा दुःख दिने काम बन्द गरिनुपर्ने लगाएतका मागहरु राखेका छन् ।