रामेछापकै उत्कृष्ट जुस ब्यवसायी लोकेन्द्र श्रेष्ठ सम्मानित

रामेछाप । बिगत लामो समयदेखी जिल्ला सदरमुकाम मन्थलीमा रहेर उत्कृष्ट जुस ब्यवसाय गर्दै आएका लोकेन्द्र श्रेष्ठ बागमती प्रदेशबाट ४० हजार नगद सहित आइतवार सम्मानित भएका छन् ।

जिल्लाकै जुस व्यवसायमा उत्कृष्ट रहेका श्रेष्ठलाई बागमती प्रदेश सरकारले १० औं उद्योग दिवसका अवसर पारेर “उद्यमशील संस्कृति, राष्ट्रको सबृद्धि ”भन्ने मूल नाराका साथ उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्रालयको नव प्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीको कार्यालय मकवानपुरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले नगद, प्रशंसा–पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको नव प्रवर्तन उद्यमी सम्मान कार्यक्रम अन्तर्गत मुख्यमन्त्रीको कार्यालयले प्रत्येक वर्ष बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुबाट एक÷एक जना सफल उद्यमी छनौट गरी सम्मान गर्ने कार्यक्रम अन्तर्गत रामेछापबाट जुस व्यवसायमा सफल व्यवसायी श्रेष्ठ पर्न सफल भएका हुन् ।

प्रदेशवाट सम्मानित भएका व्यवसायी श्रेष्ठले रामेछापमा बिगत लामो समयदेखी मन्थली डिलक्स एग्रो फरेस्ट्रि प्रा.लि. नामक कम्पनी संञ्चालन गरेर जिल्ला भित्र रहेका कृषकहरुको जुनार, कागती खरिद गरी त्यसवाट जुस उत्पादन गरेर विक्री वितरण गर्दै आएका छन् । श्रेष्ठले जुनार, कागतीको अलावा किवी, बेल र अमला लगाएतका जुस उत्पादन गरि विक्रीवितरण गर्दै आएका छन् ।

श्रेष्ठले जिल्लाको जुनारको उर्वर भूमि मानिएको रामेछाप नगरपालिकाको ओख्रेनी, गाईटार, सुकाजोर, रामेछाप, रामपुर,हिमगंगा र देउरालीका किसानहरुले उत्पादन गरेको जुनार, कागती र किवी खरिद गर्ने गरेका छन् । त्यसैगरी श्रेष्ठले मन्थली नगरपालिकाको सालु, सुनारपानी, भलुवाजोर, पुरानागाउँ र फुलासी र दोरम्वा शैलुङ्ग गाउँपालिकाको डडुवाका किसानहरुले उत्पादन गरेको जुनार, किवी र कागती किसानकै बगैँचामा पुगेर खरिद गर्ने र खरिद गरेका दानालाई पेलेर जुस उत्पादन गरी विक्रीवितरण गर्दै आएका छन् ।

जुस अत्यन्तै स्वस्थबर्धक भएकै कारण जुसको माग अत्यन्त धेरै रहेको छ । मन्थली डिलक्स एग्रो फरेस्ट्रि प्रा.लि.बाट उत्पादित जुस रामेछापको अलावा सिन्धुली, काभ्रे, दोलखा, सिन्धुपोल्चोक, भक्तपुर, ललितपुर, काठमाण्डौं लगाएत तराइका विभिन्न जिल्लाहरुमा समेत जाने गरेको छ । उक्त कम्पनीले बार्षिक १ करोड रुपैयाँ बराबरको जुस विक्री वितरण गर्दै आएको छ ।

गर्मिको समयमा जुस धेरै विक्री हुने भएकाले उत्पादित जुसले बजारको माग धान्न नै धौधौ हुने गरेको मन्थली डिलक्स एग्रो फरेस्ट्रि प्रा.लि.का संचालक लोकेन्द्र श्रेष्ठले बताए । उनले भने– ढिलै भएपनि प्रदेश सरकारले जिल्लाको सफल उद्यमी भनेर पुरस्कृत गरेकोमा आफुलाई धेरै खुशी लागेको भन्दै आगामी दिनमा जुनारको जुस क्वालिटीमा हाल भइरहेको भन्दा अझ धेरै निखार ल्याउने गरी काम गर्ने र व्यवसायलाई थप अन्य जिल्लामा पनि विस्तार गर्दै लैजाने लक्ष्य आफुले लिएको बताए ।

Scroll to Top