मेछाप । दुई दिन देखी लगातार परेको वर्षातको कारण धान काटेर बिटा लगाउन ठिक्क पारेको धान खेतमा नै पानीले भिजेपछि रामेछापका किसानहरु चिन्तित बनेका छन् ।

खेतमा लगाइएको धान पाकेर पहेलपुर भएसँगै रामेछापका किसानहरुले धान काट्न शुरु गरेका थिए । कार्तिकको दोस्रो हप्ता लाग्दा पनि दिउँसो चर्को घाम लागेका कारण किसानहरुले पानी पर्ला भन्ने कुनै भेउ पाएनन् । जसका कारण खेतमा पाकेको धानबाली काटेर खेतमा नै सुकाएका थिए । केहीले काटेको धान समयमानै बिटा लगाएर अन्नपात घरमा भित्राएका थिए । अधिकासं किसानहरुले भने धान काटेर खेतमा नै सुकाएका र बिटा नै लगाउन नपाउँदै पानी परेर धान भिजाएपछि किसानहरु निराश छाएको मन्थली नगरपालिका–७ भटौलीका कृषक रामचन्द्र शर्माले जानकारी दिए ।
उनले भने– अघिपटि टन्टालपुर घाम लाग्ने गर्दथ्यो । पानी पर्ने कुनै छेकछन्दै थिए । म लगाएत धेरै किसानहरुले एकै पटक सयौं रोपनी खेतमा लगाइएको धान पाकेर पहेलपुर भएपछि काट्यौं । धान काटेर खेतमा नै सुकाएका छौं । केहीले धान बिटा लगाएर भित्राए । म लगाएत धेरै किसानहरुले बिटा लगाउन नै पाएनौं । यो बेमौसमका समयमा पानी परेर धान बाली नष्ट गर्दा सारै दुःख लागेको शर्माले बताए ।


बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारत हुँदै नेपालको मध्यभूभाग नजिक आएर पूर्वतर्फ सर्दै सोही चक्रवातको कारण दुई दिनदेखी निरन्तर वर्षा भइरहेको छ । सो वर्षाका कारण पाकेको धान काटन ठिक्क परेका किसानहरुले धान काट्न पाएनन् भने काटिसकेको धान पनि बिटा लगाउन नपाउँदा किसानले धान समेत भित्रयाउन पाएनन् । खेतमा दिनरात पाकेको धान काट्न, बिटा लगाउन, धान बोक्न, पराल कुन्यु लगाउन व्यस्त रहने किसानहरु यतिखेर फुर्सदिलो भएको लिखु तामाकोशी गाउँपालिका–६ की अप्सरा दाहालले बताइन ।
रामेछापमा धान खेतीको लागि ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रफल जमिन उपयुक्त भएता पनि यसवर्ष ७ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्रै धान खेती गरिएको छ । गएको वर्ष रामेछापमा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती लगाइएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद प्रसाद दाहालले जानकारी दिए ।
हाल रामेछापको मन्थली नगरपालिकाको मन्थली, भटौली, बारी खेत, खादवारी, बोद्ने, खाँडादेवी गाउँपालिकाको माडी, सित्खा फाँट, दोरम्वा शैलुङ्ग गाउँपालिकाको रजमन्टार फाँट, लिखु तामाकोशी गाउँपालिकाको खिम्ती, शिरेषे, रातमाटा र रामेछाप नगरपालिकाको साँघुटार फाँट लगाएतका क्षेत्रमा उल्लेख्य रुपमा धान खेती गरिदै आएको छ ।



